ज्ञानेन्द्रसँग क्यानको ‘इगो’ ?, लगातार टिमबाहिर राखिँदै – Nepal Press

ज्ञानेन्द्रसँग क्यानको ‘इगो’ ?, लगातार टिमबाहिर राखिँदै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार आफ्नो वेबसाइटमा महत्वसाथ ‘मल्लको अनुपस्थितिले उनको अन्तर्राष्ट्रिय करिअर सकिएको संकेत’ हेडलाइन दिएर समाचार छापेको छ ।

त्यसअघि आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि बुधबार घोषणा गरिएको नेपाली टोलीमा समकालिन खेलाडीमध्ये सबैभन्दा अनुभवी ज्ञानेन्द्रलाई समावेश गरिएको थिएन ।

यूएईमा गत मार्च २१ मा भएको विश्वकप लिग-२ अन्तर्गत घरेलु टोलीसँग खेलेको खेलयता ज्ञानेन्द्रलाई टोलीमा समावेश गरिएको थियो ।

त्यसयता नेपालले घरेलु मैदानमा पपुआ न्युगिनीसँग दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला तथा पपुआ न्युगिनी र मलेसियासम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। हालसालै नेपालले घरेलु मैदानमा पनि जिम्बावे ‘ए’ सँग एकदिवशीय र टी-२० शृंखला खेलेको थियो। यी खेलहरुमा ज्ञानेन्द्रलाई टोलीमा राखिएको थियो ।

यूएई भ्रमणसकेर आएलगत्तै खेलिएको एकदिवशीय र टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ज्ञानेन्द्रलाई समावेश नगरिएपछि उनलाई आराम दिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

तर, लगातार टिममा नपरेपछि के अब उनको अन्तर्राष्ट्रिय करिअर नै सकिएको हो त भन्ने अनुमान सुरु हुन थालेको छ। ज्ञानेन्द्र जारी विश्वकप लिग-२ मा नेपालका लागि सर्वाधिक रन जोड्न ब्याट्सम्यान हुन्। उनले ११ खेलमा तीन अर्धसतकसहित २ सय ८६ रन जोडेका छन् ।

के प्रदर्शन कमजोर थियो ?

ज्ञानेन्द्रले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगितामा यूएईमा गत मार्चमा आयोजित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला थियो। शृंखलाअन्तर्गत मार्च १६ मा भएको पपुआ न्युगिनीविरुद्धको खेलमा ज्ञानेन्द्र ४ रन बनाएर आउट भएका थिए भने ६ रन दिएर एक विकेट हात पारेका थिए।

मार्च १८ मा यूएईसँग भएको खेलमा उनले २८ रन जोडेका थिए। मार्च २१ तारिखमा यूएईसँग भएको खेलमा उनले यूएईविरुद्ध नै ३० रन बनाएका थिए। त्यसको भोलिपल्ट पपुआ न्युगिनीसँग भएको खेलमा ज्ञानेन्द्रलाई प्लेइङ सेटमा राखिएन ।

फेब्रुअरीमा ओमानमा भएको टी-२० विश्वकपको विश्वस्तरको छनोटमा उनले ५ खेलमा ३५ रन मात्र जोड्न सकेका थिए । तर, तीन खेलमा उनले ब्याटिङ नै गर्नु परेको थिएन । एक खेलमा २० र अर्को एक खेलमा १५ रन जोडेका थिए । ज्ञानेन्द्रले एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा १९ खेल खेल्दै ४ अर्धसतकसहित ४ सय ८० रन जोडेका छन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ४० खेलमा एक सतक र एक अर्धसतकसहित ७ सय ४८ रन बनाएका छन् । सन् २००६ मा सिनियर राष्ट्रिय टोलीमा समावेश भएका ज्ञानेन्द्र नेपाली क्रिकेटले हात पारेका महत्वपूर्ण सफलताका महत्वपूर्ण सदस्य हुन् ।

ज्ञानेन्द्र टिममा पर्न छाड्नुलाई केही महिना अघि नेपाल क्रिकेट संघ-क्यानसँग उनको विवादलाई बाहिर राख्न मिल्दैन । खेलाडीको सेवा सुविधाको विषयमा उनले मिडियासँग बोलेपछि क्यानले उनको कप्तानी खोसेर सन्दीप लामिछानेलाई दिएको थियो । टिमभित्र गुट जन्माएको, नयाँ र युवा खेलाडीलाई क्यानविरुद्ध उक्साएको आरोप उनिमाथी थियो ।

ज्ञानेन्द्रमात्र होइन अन्य तीन खेलाडी पनि कारबाहीमा परेका थिए । उक्त कारबाहीको विषयमा एक दर्जनभन्दा बढी खेलाडी आन्दोलनमा उत्रिएपछि यसले राष्ट्रिय चर्चाको विषय बनेको थियो । त्यतिबेला नेपाली टोली सम्हाल्न आइपुगेका प्रशिक्षक पुबुदु दासानायकेले विवाद समाधानमा सहजीकरण गरेर अन्य खेलाडीमाथीको कारबाही फुकुवा तर सन्दीपलाई कप्तान बनाउने निर्णय कायम रहने निर्णय भएको थियो ।

त्यसबीच पनि अरु खेलाडीको भविश्य जोखिममा पर्ने भन्दै ज्ञानेन्द्र सन्दीपको कप्तानीमा खेल्न तयार भएका थिए । तर, राष्ट्रिय टोलीमा उनको यात्रा सहज बनेन। श्रील‌ंका, ‌ओमान हुँदै यूएई पुगेको नेपाली टोली स्वदेश फर्किएपछि ज्ञानेन्द्रले टिममै स्थान बनाउन छाडेका छन्।
राष्ट्रिय क्रिकेट टोलीका पुराना सदस्यहरुसँग क्यान पदाधिकारीको इगो नयाँ होइन । पारस खड्का, ज्ञानेन्द्रहरुले खेलाडीहरूको सेवा सुविधा, पूर्वाधार विकासमा पटकपटक आवाज उठाउँदै क्यानको आलोचना गर्दै आएका थिए ।

क्यान निलम्बनमा रहेको अवस्थामा पनि उनीहरूले नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याएका थिए । अख्तियार दुरुपयोग अनुसन्धानमा मुद्दासमेत व्यहोरेका तत्कालीनन क्यान पदाधिकारीहरूले खेलाडीहरुबाट पाएको ‘ह्युमिल‍ेसन’ कै कारण इगो बढ्दै गएको कतिपय खेलाडी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर