ललितपुरमा मतगणना प्रतिनिधि बस्न बालेनलाई दिइएन अनुमति – Nepal Press

ललितपुरमा मतगणना प्रतिनिधि बस्न बालेनलाई दिइएन अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह आज ललितपुरको मतगणनास्थल पुगे । एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा मतगणनामा बस्न गएका बालेन त्यसका लागि अनुमति नपाएपछि फर्किएका छन् ।

ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए ।

ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् । व्यञ्जनकारले पञ्चायतकालदेखि निरन्तर हरेक चुनावमा भाग लिएर वडाध्यक्ष जित्दै आएका छन् । उनका छोरा कुमार बालेनका निकट सहयोगी हुन् । उनले यो चुनावमा आफ्नो पितालाई भन्दा बालेनलाई बढी समय खर्चिरहेका छन् ।

प्रतिष्ठानको भवनमा बालेनको प्रवेश हुँदा सञ्चारकर्मी उनीतिर झुम्मिएका थिए । केही सञ्चारकर्मीले उनीसँग कुरा गर्न खोजे पनि उनले बोल्न मानेनन् । बालेनको आग्रहमा सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर