प्रमुख निर्वाचन आयुक्तको आग्रह- यसपालि उम्मेदवारलाई भोट हाल्नुस्, पछि नो भोटको पनि व्यवस्था हुन्छ (भिडिओ) – Nepal Press

प्रमुख निर्वाचन आयुक्तको आग्रह- यसपालि उम्मेदवारलाई भोट हाल्नुस्, पछि नो भोटको पनि व्यवस्था हुन्छ (भिडिओ)

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘नो भोट’ को माग गर्ने मतदातालाई यसपटक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् ।

नेपाल प्रेसको विशेष प्रस्तुति नेपाल टकमा कुराकानी गर्दै उनले नो भोटको विषयमा आयोग पनि सकारात्मक रहेको जानकारी गराए ।

उनले भने, ‘जसले नो भोटको माग गरिरहनुभएको छ, त्यो उहाँहरुको अधिकार पनि हो । सर्वोच्च अदालतले पनि त्यो आदेश दिइसकेको छ । तर, जसले नो भोट भनिरहनुभएको छ, उहाँहरुलाई ३० गतेको निर्वाचनमा सबैभन्दा अगाडीको लाइनमा देख्न चाहान्छु । प्रतिक्षा गर्नुहोस, तपाईंहरुको माग पनि चाडै पुरा हुनेछ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका तथा आफ्नो ठाउँभन्दा बाहिर रहेका व्यक्तिलाई पनि मतदानको अधिकार दिलाउन आयोगले गम्भिर ढंगले सोचिरहेको बताए ।

उनले भने, ‘यस विषयमा हामी एकदमै गम्भिर छौ । यो आयोगले गरेर मात्र नहुने भएकाले संसदले नै ऐन–कानुन निर्माण गर्नपर्ने हुन्छ । जतिसक्दो चाँडै यो व्यवस्था गर्नका लागि तत्पर छौ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको तयारी ९५ प्रतिशत पुरा भइसकेको बताए । उनले भने, ‘निर्वाचनको सबै तयारी पुरा भएको भन्न सकिदैन । किनभने निर्वाचन भएपछि मात्र शतप्रतिशत पुरा भएको मान्न सकिन्छ । अहिले ९५ प्रतिशत पुरा भएको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियासँग गरिएको भिडिओ संवादः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर