बुटवलमा एमाले उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताबाटआक्रमण – Nepal Press

बुटवलमा एमाले उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताबाटआक्रमण

रूपन्देही । बुटवलमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा एमालेका उम्मेदवारको गाडीमा आक्रमण गरेका छन्।

बुटवल उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्षका उम्मेदवार देवी रेग्मी सवार रहेको वा २० च ६७८५ नं. को ईसुजुको डबल क्याप गाडीमा सोमबार साँझ ८ बजेतिर आक्रमण गरेका हुन्।

बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ नं. को स्कुटरमा आएका तिनजनाको समुहले एकाएक गाडीमाथि ढुंगा प्रहार गरेका थिए। उनीहरुको ढुंगा प्रहारबाट गाडीको अगाडीको शिशा फुटेको छ। आक्रमणपछि गाडीलाई प्रहरीले सुरक्षामा राखेको छ भने आक्रमणमा संलग्नहरु फरार रहेको प्रहरीले जनाएको छ।

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफू पराजित हुने निश्चित भएपछि एमालेका उम्मेदवारमाथि सांघातिक आक्रमणमा उत्रिएको बताए।

केसीले एमालेले नगरप्रमुख उपप्रमुखसहित वडाअध्यक्ष र सदस्यहरु जित्ने निश्चित भएपछि नेपाली कांग्रेस पराचित मानसिकतामा पुगेको भन्दै यस्ता घृणित कार्यहरु तत्काल रोक्न र आक्रमणकारीहरुलाई पक्राउ गरी कारवाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरे।

निर्वाचनमा पराजित हुने भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु सुनियोजित रुपमा एमालेका उम्मेदवारमाथि नै आक्रमणमा उत्रिनु निन्दनीय भएको उल्लेख गर्दै यस्ता घटनाबाट विचलित नभई निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित हुन एमाले नेता कार्यकर्ताहरुलाई उनले आग्रह गरे। केसीले विपक्षीहरुको घृणित कार्यबाट उत्तेजित नभई संयमतापुर्वक मतदाताको घरघरमा पुग्न कार्यकर्तालाई आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले घटनाबारे आफुलाई बुटवल प्रहरीले हालसम्म जानकारी नगराएको र के भएको रहेछ बुझ्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *