प्रशिक्षक-खेलाडी विवाद: राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन – Nepal Press

प्रशिक्षक-खेलाडी विवाद: राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं। राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकबीच भएको विवादको छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति गठन गरेको छ ।

आइतबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा भएको कार्यसमितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गत वैशाख १३ गते खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको व्यवहारका कारण बन्द प्रशिक्षण छाडेका थिए ।

१६ गते पत्रकार सम्मेलन गर्दै बन्द प्रशिक्षण छाडेका खेलाडीले स्पष्टीकरण दिएका थिए ।

१८ वैशाखमा प्रशिक्षक अल्मुताइरीले एन्फालाई पत्र काट्दै खेलाडीले बन्द प्रशिक्षण आफूलाई थाहा नदिएरै छाडेको र आगामी प्रशिक्षणमा सामेल नगराउने बताएका थिए । उनले पत्र काट्दै खेलाडीलाई कारवाही नगर्न एन्फा समक्ष आग्रह समेत गरेका थिए ।

१९ वैशाखमा १० खेलाडीले हस्ताक्षर गर्दै व्यवस्थापक र प्रशिक्षकको कारण बन्द प्रशिक्षण छाड्नु परेको र सत्य तथ्य छानबिन गर्न एन्फा समक्ष आग्रह गरेका थिए ।

यता, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले पत्र काट्दै कार्यसमिति बैठक बोलाएपछि आज बैठक बसेको थियो ।

बैठकले पूर्व खेलाडी तथा आर्मीका अवकाश प्राप्त उपरथी भिक्टोर रानालाई छानबिन समितिको संयोजक बनाएको हो ।

यस्तै पूर्व राष्ट्रिय खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई छानबिन समितिको जिम्मा दिएको हो ।

समितिले सात दिनभित्र सत्य तथ्य पत्ता लगाई एन्फामा प्रतिवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर