राजनीति गर्न सिंगापुर पुलिस छाडेका राजन बने गाउँपालिका अध्यक्ष उम्मेदवार – Nepal Press

राजनीति गर्न सिंगापुर पुलिस छाडेका राजन बने गाउँपालिका अध्यक्ष उम्मेदवार

काठमाडौं । उनले चाहेकाे भए अझै २७ वर्ष जागिर खान सक्थे । त्याे पनि सिंगापुर पुलिसकाे जागिर थियाे । तर, १५ वर्षपछि अवकाश लिएर २०७३ सालमा उनी नेपाल फर्किए । नेपाल फर्किन परिवारकाे दबाब थिएन । घर फर्किहाल्नु पर्ने कुनै कारण वा समस्या पनि थिएन । तर, ताप्लेजुङको फक्ताङलुङका राजन लिम्बू गाउँ फर्के, त्याे पनि राजनीति गर्न ।

सुन्दा पत्यार नलाग्ने राजन आशन्न स्थानीय तह निर्वाचनमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका उम्मेदवार नै बनेका छन् । गाउँ फर्केर उनले माओवादी केन्द्रबाट राजनीति सुरु गरेका थिए । जसअनुसार माओवादी केन्द्रले नै उनलाई गाउँपालिका अध्यक्षकाे टिकट दिएको हाे ।

सिंगापुर रहँदा नै उनी लिम्बूवान मुक्ति मोर्चाकाे केन्द्रीय सदस्य बनेका थिए । नेपाल फर्किएपछि २०७३ सालमा ताप्लेजुङ-काठमाडौं गणतान्त्रिक मञ्चको कोषाध्यक्षमा निर्वाचित भएका थिए राजन । २०७४ सालमा उनले वाईसीएल नेपाल गैरभूगोल प्रदेश १ समन्वय समितिको अध्यक्ष भए ।

२०७५ सालमा वाईसीएल ताप्लेजुङको जिल्ला इन्चार्ज भएका राजन माओवादी र एमालेको एकतापछि राष्ट्रिय युवा संघ नेपालको जिल्ला सहइन्चार्ज र नेकपाको जिल्ला कमिटी सदस्य भएका थिए । पार्टी फुटेपछि फेरि वाईसीयल जिल्ला इन्चार्जमै रहेर काम गरे । माओवादीको गत मंसिरमा सम्पन्न देशव्यापी पालिका सम्मेलनयता उनी फक्ताङलुङ गाउँपालिकाको पार्टी अध्यक्ष भएर काम गरिरहेका छन् ।

तीन वर्षकाे उमेरमा बुबा गुमाएका राजन स्थानीय जनताकाे आर्थिकस्तर उकास्न आफू लाहुरे जीवन टुंग्याएर नेपाल फर्किएको बताउँछन् ।उनले स्वदेश तथा विदेशमा रहेका ताप्लेजुङवासीलाई सहयोग गर्न ताप्लेजङ-काठमाडौं युवा समाजको संस्थापक अध्यक्ष भई काम गर्दै आएका छन् । कोरोना भाइरसको महामारीबीच लकडाउनका कारण घर फर्किन नपाएर समस्यामा परेका, विदेशी भूमिमा विभिन्न कारणले अलपत्र परेका जिल्लावासीहरुलाई यो संस्थाले सहयोग गरेको थियो।

फक्ताङलुङ गाउँपालिकाको रानी प्राविका विद्यार्थीहरुलाई जाडो समयकाे लागि न्यानाे  कपडा सहयोग गरिरहेका छन् । त्यस्तै ताप्लेजुङकै पाथीभरा बहुमुखी क्याम्पसका न्यून आर्थिक स्तरका सय जना विद्यार्थीलाई राजन सम्मिलित टिमले एक वर्षसम्म लाग्ने शुल्क व्यहाेरिरहेकाे छ। उनको पहलपछि संघ र प्रदेश सरकारको सहयोगमा फक्ताङलुङको शेवालुङ माविमा आईसीटी ल्याब र पुस्तकालय स्थापना भई सञ्चालनमा रहेको छ ।

‘म लिन आएको हैन, दिन आएको हुँ । लिन आउने भए सुविधा सम्पन्न ठाउँ र भने जस्तै तलब छोडेर गाउँ फर्किने थिइनँ । अन्य साथीहरुसँगै सिंगापुरमै हुँन्थे । विदेशी भूमिमा आफूले देखेको र सिकेको ज्ञान र अनुभवलाई प्रयोग गरेर आफ्नो गाउँ बनाउने सपना र योजना बोकेर गाउँ फर्किएको हुँ’, राजन भन्छन् ।

फक्ताङलुङवासीको जीवनस्तर उकास्न पाँच वर्षे कार्ययोजनासहित काम गर्ने योजना रहेको उनले सुनाए । विभिन्न जातजातिको संस्कार संस्कृति एवं धार्मिक क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकास गर्न, विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास र प्रचारप्रसार गर्ने, गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनामा जनताको शेयर लगानी गरेर स्थानीयको जीवनस्तर उकास्न काम गर्ने योजना रहेकाे उनले बताए ।

युवाहरुको विदेश पलायन रोक्न युवामुखी कार्यक्रम सञ्चालन गर्ने, महिला तथा कृषकलाई उचित सहुलियतका साथै प्राविधिक एवं व्यवसायिक खेतीमा जोड दिने आफ्नाे योजना सुनाउँदै उनी फक्ताङलुङवासीसँग भोट मागिरहेका छ्न्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर