४ वर्षको प्रेमपछि विवाह : को हुन् स्वप्न सुमनकी जीवनसाथी ज्योत्सना ? (तस्बिरहरु) – Nepal Press

४ वर्षको प्रेमपछि विवाह : को हुन् स्वप्न सुमनकी जीवनसाथी ज्योत्सना ? (तस्बिरहरु)

काठमाडौं । फ्यानहरुलाई सरप्राइज दिँदै गायक स्वप्न सुमनले दुई दिनअघि आफ्नी प्रेमिका ज्योत्सना योगीसँग लगनगाँठो कसे । कमलपोखरीको एउटा होटलमा आयोजित सानो समारोहमा परम्परागत तवरबाट उनीहरुले लगनगाँठो कसेका थिए ।

४ वर्षदेखि रिलेसनसीपमा रहे पनि उनीहरु सार्वजनिकरुपमा खुलेका थिएनन् । स्वप्न सुमनले एकाएक विवाहको तस्वीर सामाजिक सञ्जालमा हालेपछि उनका धेरै लेडी फ्यानहरु जिल्लिए । खैर, यी गायकलाई अहिले बधाई र शुभकामना सन्देश लिन भ्याइनभ्याइ छ ।

विवाह लगत्तै स्वप्नले एउटा रोमान्टिक गीत सार्वजनिक गरेका छन्, जुन उनले आफ्नी पत्नीका लागि लेखेका हुन् । आज युट्यूवमा श्रीमतीसहित लाइभ आएर उनले गीत लञ्च गरेका थिए । ज्योत्सनाको हातबाट स्वप्नले ‘बाचा भयो’ बोलको गीत लञ्च गरेका हुन् । गीतको भिडियोमा स्वप्न र ज्योत्सना एकसाथ देखिन्छन् । उनीहरुको विवाहका केही फुटेज पनि भिडियोमा समावेश गरिएको छ ।

को हुन् स्वप्न सुमन र ज्योत्सना ?

युवायुवतीहरुमाझ अत्यधिक क्रेज भएका गायक हुन् स्वप्न सुमन । युट्यूवबाट चर्चामा आएका उनले छोटो समयमा लोभलाग्दो फ्यान फलोइङ कमाए ।

स्वप्नको ‘कसरी भनुँ’ बोलको गीत सर्वाधिक हिट छ । ५ वर्षअघि युट्यूवमा रिलिज भएको यो गीतको लिरिकल भिडियोले अविश्वसनीयरुपमा ५ करोड २० लाख भ्यूज बटुलेको छ । कुनै पनि नेपाली गीतको लिरिकल भिडियोले पाएको सम्भवत यो सर्वाधिक भ्युज हो । यस्तै ‘म तिम्रो’ बोलको गीतले पनि २ करोड भन्दा बढी भ्यूज पाएको थियो । स्वप्नले सन् २०१२ बाट संगीत करिअर सुरु गरेका हुन् ।

स्वप्नकी पत्नी ज्योत्सना पनि कलाकारिता क्षेत्रमै सक्रिय छिन् । उनले ‘म त तिम्रै हुँ’ नामक चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकी थिइन्, जुन चलचित्र २०१५ मा रिलिज भएको थियो । चलचित्रले व्यापारिक सफलता हासिल नगरेकाले उनी चर्चामा आउन सकिनन् । ज्योत्सनाले मनोज पण्डित निर्देशित चलचित्र ‘एक’ मा पनि अभिनय गरेकी छिन् । यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज गरिएको थियो ।

पछिल्लो समय उनी म्युजिक भिडियो तथा मोडलिङमा सक्रिय छिन् । एमबीएसम्मको अध्ययन गरेकी ज्योत्सना पार्ट टाइममा आइइएलटीएसका विद्यार्थीहरुलाई पढाउने पनि गर्छिन् ।

लभ क्लोजअप नामक वेव सिरिजमा स्वप्न र ज्योत्सनाले सँगै अभिनय गरेका थिए । प्रेमी–प्रेमिकाको रुपमा नखुले पनि स्वप्नले ज्योत्सनासँग थुप्रै टिकटक भिडियो बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *