फुटबल संकट : प्रशिक्षक र खेलाडी द्वन्द्वमा एन्फा रमिते, समाधान गर्न मन्त्रीको निर्देशन – Nepal Press

फुटबल संकट : प्रशिक्षक र खेलाडी द्वन्द्वमा एन्फा रमिते, समाधान गर्न मन्त्रीको निर्देशन

काठमाडौं । राष्ट्रिय फुटबल टिमबाट १० जना सिनियर खेलाडी निकालिएसँगै उत्पन्न भएको संकट अझै समाधान भएको छैन ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र उनीबाट निकालिएका १० खेलाडीले एन्फालाई बेग्लाबेग्लै पत्र लेख्दै लबिङ गरेका छन् ।

हिजो प्रशिक्षक अल्मुताइरीले एन्फालाई पत्र लेख्दै १० जना खेलाडीहरुलाई टिममा नफर्काउने आशय व्यक्त गरेका थिए । उनले ती खेलाडीहरूलाई ‘माफी दिन’ एन्फालाई आग्रह समेत गरेका छन् ।

आज खेलाडीहरूले एन्फालाई पत्र लेख्दै आफूहरूमाथि अन्याय भएको आशय व्यक्त गरेका छन् । तर, उनीहरूले पत्रमा कुनै माग राखेका छैनन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रशिक्षक र खेलाडीहरू दुवै पक्षबाट एन्फामा पत्र आए पनि यसमाथि छलफल नभएको बताए ।

के छ प्रशिक्षकको पत्रमा ?

प्रशिक्षक अल्मुताइरीले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पत्र पठाएका थिए । उनले नेपाली खेलाडीहरू संलग्न पछिल्लो विकास क्रमबाट आफ्नो मन भारी भएको पत्रमा उल्लेख गरेका छन् ।

‘म राष्ट्रिय शिविरमा राखिएका केही खेलाडीहरूले ममाथि सार्वजनिक रूपमा लगाएका आरोपहरूबारे जानकार छु,’ उनले भनेका छन्, ‘टिमका सबै खेलाडीको अभिभावकका रूपमा म युवा रगतको भावुकता बुझ्छु, जसले अहिलेको असहज परिस्थिति उत्पन्न गरेको छ ।’

खेलाडीहरूको एकतर्फी कदमले आफूलाई दुखी तुल्याएको उनले बताएका छन् । आफूले राष्ट्रिय टिममा ठोस सुधार गरेको दाबी गर्दै उनले यसलाई निरन्तरता दिन चाहेको उल्लेख गरेका छन् । एउटा राष्ट्रिय प्रशिक्षक तथा मुख्य छनोटकर्ताका रूपमा टिम निर्माणको अधिकार र उत्तरदायित्व आफूमा रहेको उनको भनाइ छ ।

‘नेपाली राष्ट्रिय टिमको सर्वोत्कृष्ट समूह छनोट गर्ने मेरो अधिकार हो,’ उनले भनेका छन्, ‘मैले एएफसी एसिया कप क्वालिफायर खेलेको टिमबाट केही खेलाडीलाई बाहिर राखेको हुँ, जसले कुनै पूर्व जानकारी बिना राष्ट्रिय टिम छोडेका थिए ।’

आफू विरुद्ध बोलेका खेलाडीहरूलाई आफूले माफी दिने अल्मुताइरीले बताएका छन् । उनीहरूले गरेको गल्तीका लागि खेलाडीहरूलाई सजाय नदिन उनले एन्फालाई आग्रह गरेका छन् ।

‘एसिया कप २०२३ क्वालिफायरमा मा नेपाली टिमले गर्ने प्रदर्शनको सबै जिम्मेवारी म लिन्छु,’ अल्मुताइरीले पत्रमा भनेका छन् ।

कारबाहीको कुरा भएको छैन : एन्फा

प्रशिक्षकले खेलाडीमाथि सजाय नगर्न आग्रह गरेर घुमाउरो रूपमा कारबाही गर्न एन्फालाई प्रेरित गरेकोजस्तो बुझिन्छ । यस कारण कि, एन्फाले ती खेलाडीलाई कारबाही गर्ने विषयमा कुनै तयारी गरेको थिएन ।

एन्फा महासचिव तुलाधरले खेलाडीहरूलाई कारबाही गर्ने विषयमा छलफल नभएको जानकारी दिए । खेलाडीहरूको पनि पत्र आइसकेकाले अब एन्फाले चाँडै बैठक बसेर निर्णय लिने उनले बताए ।

के छ खेलाडीको पत्रमा ?

खेलाडीले भने एन्फा अध्यक्षलाई नै सम्बोधन गरेर पत्र लेखेका छन् । उक्त पत्रको ‘विषय’ मा भनिएको छ, ‘प्रशिक्षण क्याम्प घटनाको जानकारी गराउने बारे ।’

पत्रमा आफूहरू टोलीको प्रशिक्षण छाडेर भागेको भन्दै सञ्चारमाध्यममा आएका समाचारबाट दुखित बनेको खेलाडीहरूले बताएका छन् ।

टिमका कार्यवाहक कप्तान रोहित चन्दले प्रशिक्षकसँग जायज माग राख्दा प्रशिक्षकबाट भएको व्यवहारप्रति आफूहरूको असन्तुष्टि रहेको पत्रमा उल्लेख छ ।

‘त्यसबारे नै कुरा गर्न जाँदा हामीलाई पटक–पटक क्याम्प छोड्न भनेपछि हामी बाहिरिएका हौँ,’ खेलाडीले भनेका छन् ।

दैनिक जीवनयापनका आधारभूत माग राख्दा उल्टो क्याम्प छोड्न निर्देशन दिनु र त्यसमाथि एन्फाका पदाधिकारीले सार्वजनिक रुपमा खेलाडीविरुद्ध प्रतिक्रिया दिनुले आफूहरू दुखी बनेको पत्रमा उल्लेख छ । खेलाडीहरूले पछिल्लो घटनामा व्यवस्थापनको पनि चरम लापरबाही औंल्याएका छन् ।

‘आशा छ यस विषयलाई एन्फाले गम्भीर रूपमा लिएर उचित कदम अघि बढाउनेछ,’ पत्रमा भनिएको छ ।

एन्फा रमिते मात्र

खेलाडीले एन्फा गम्भीर भएर उचित कदम चाल्ने अपेक्षा व्यक्त गरे पनि एन्फा अहिलेसम्म रमितेको भूमिकामा मात्रै देखिएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले यस विषयमा खासै केही नभएको बताए ।

आफू पार्टीमा रहेको भन्दै उनले भने, ‘खोइ के भएको छ डेभलपमेन्ट मैले बुझेको छैन । आज बैठक बसिएन । भोलि बसियो भने कुराकानी होला ।’

प्रशिक्षक र खेलाडीले पठाएको पत्रका विषयमा सोध्दा उनले आफूहरूले अध्ययन गर्न बाँकी रहेको बताए ।
‘पत्रमा के छ अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिन सकिन्छ,’ उनले भने ।

विवाद उत्पन्न भएको यतिका दिनसम्म एन्फा किन गम्भीर नदेखिएको भन्ने प्रश्नमा तुलाधरले जवाफ दिए, ‘हामी गम्भीर छौँ, त्यसैले मौन छौँ । हतारमा निर्णय गर्न चाहँदैनौँ ।’

खेलकुद मन्त्रीको निर्देशन

खेलाडी र प्रशिक्षकको विवाद समाधानमा एन्फाले तदारुकता नदेखाएपछि खेलकुद मन्त्रीले हस्तक्षेप गरेका छन् । उनले एन्फा अध्यक्ष कर्मा छिरिङलाई फोन गरी विवाद समाधानका लागि निर्देशन दिएका हुन् ।

खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले खेलाडी र प्रशिक्षकबिच उत्पन्न विवादबारे आफू जानकार रहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले यस विषयमा एन्फा अध्यक्षलाई आफूले निर्देशन दिएको उल्लेख गरे ।

गहतराजले भने, ‘मैले कर्माजीसँग कुरा गरिरहेको छु । खेलाडी र प्रशिक्षकलाई सम्झाउन निर्देशन दिएको छु । चाँडै समस्या हल हुन्छ ।’

असन्तुष्ट १० खेलाडीहरू आज मन्त्री गहतराजलाई भेट्न मन्त्रालय पुगेका थिए । तर आफ्नो कार्य व्यस्तताका कारण खेलाडीसँग कुरा गर्न नपाएको गहतराजले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर