अनियमित विद्युत् आपूर्तीले रुपन्देहीका १५ हजार उद्योग समस्यामा – Nepal Press

अनियमित विद्युत् आपूर्तीले रुपन्देहीका १५ हजार उद्योग समस्यामा

रुपन्देही । अनियमित विद्युत् कटौतीले रुपन्देहीमा संचालन भएका करिब १५ हजार उद्योगहरु नियमित संचालन हुनसकेका छैनन् । विद्युत् आपूर्ती नियमित नहुँदा उत्पादनमा कमी भएको मात्र छैन, लो भोल्टेज र ट्रिपिङका कारण महंगा प्राविधिमा जोडिएका मेशिनरी सामानहरुमा असर परेको उद्योगीहरुको गुनासो छ ।

एक महिनादेखि विद्युत् आपूर्तीमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेजका कारण रुपन्देही आसपासका उद्योग प्रतिष्ठानहरुमा समस्या उत्पन्न भएको भन्दै उद्योगी व्यवसायीका विभिन्न संघसंस्थाहरुले विद्युत् प्राधिकरणका कार्यालयहरुमा पटक पटक ध्यानाकर्षण गराएका छन् ।

रुपन्देही उद्योग संघ, उद्योग वाणिज्य संघ बुटवल र सिद्धार्थ उद्योग वाणिज्य संघले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर धेरैपटक ध्यानाकर्षण गराउने काम गरे पनि नियमित विद्युत् आपूर्ती हुन नसकेको उनीहरुको गुनासो छ ।

करिब एक महिनदेखि विद्युत् आपूर्ती नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाई भएको छ । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगहरुमा विद्युत् आपूर्ती बन्द भएकाले समस्यामा परेका छन् ।

औद्योगिक उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उद्योगी व्यवसायी निरास भएका रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले बताए ।

प्राधिकरणको नेतृत्वको असक्षमताका कारण पटकपटक उद्योगीहरुले पीडा भोग्नु परेको र विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित भएको बोहोरा बताउँछन् । विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरु बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार बन्न नसकेको गुनासो उनीहरुको छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले अनियमित विद्युत् आपूर्तिले उत्पादनमा कमी, यन्त्र उपकरण बिग्रिने, कच्चा पदार्थको वेष्टेज बढ्ने र जसका कारण उत्पादन लागत बढ्ने बताउँदै समस्या समाधानको लागि समेत प्राधिकरण र मातहतका कार्यालयहरुमा आग्रह गरिएपनि समाधान नभएको बताए । उनले सरकारले हालै मात्र आयात कमी गर्ने नीति लिएको सन्दर्भमा विद्युत्का कारण औद्योगिक उत्पादनको लागत बढ्ने र पेट्रोलियम पदार्थको उपभोग बढ्ने भएकोले समग्र अर्थतन्त्रमा समेत असर पुग्ने देखिएको बताए । उनले औद्योगिक उत्पादनलाई सहज गर्न र अर्थतन्त्रलाई थप असर पर्न नदिन विद्युत् आपूर्तिलाई नियमित गर्न माग गरिएको बताए ।

विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ वटा सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्पजस्तै भएका छन् ।

अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन ।

अनियमित विद्युत् आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषित रुपमा २४ घण्टा विद्युत् कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।

उद्योगीहरुले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकारणसँग पटकपटक आग्रह गर्दै आए पनि समस्या समाधान हुनसकेको छैन ।

करिब दुई सातायता विद्युत आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रवन्धक विदुर ढुङ्गानाको भनाइ छ ।

सिमेन्ट उत्पादनका लागि उपयुक्त समयमा यस्तो भएपछि कसरी भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्ने ? अब भारतीय सिमेन्टले बजार लिन्छ । हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ– ढुङ्गानाले भने ।

उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंकको ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेकोे उनीहरुको गुनासो छ ।
विद्युत प्राधिकरणले समय तालिका बनाएर उद्योग क्षेत्रको विद्युत आपूर्ति नियमित गर्नुपर्ने माग उनीहरुकोे छ ।

आपूर्तिको समस्या समाधान गर्न ढिलाई गरिए उद्योगमा ताला लगाएर सडकमा आउनुपर्ने अवस्था रहेको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । उद्योगी व्यवसायीको साझा संस्था समेत रहेको संघमा जिल्लाका उद्योगीले अघोषित विद्युत कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत सप्लाई गर्न माग गरेका छन् । ३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत कटौती हुन थालेपछि उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत सिद्धार्थ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराएको छ ।

उत्पादनजस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन संघको आग्रह छ ।

विद्युत प्राधिकरणले भने नेपाल सरकारले भारतीय सरकारसँग लिएको विद्युत् रोकिएपछि यस क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाका वितरण प्रमुख अवधेशकुमार दुवेले केही दिनदेखि सुख्खायामका कारण जलविद्युत आयोजनाको जलासय घटनाले उत्पादनमा कमी आएको र भारतमै पनि विद्युत् कमी भएकाले आयात गर्न नसकिँदा अभाव हुन गएको बताए । शनिवारदेखि भने विद्युत् आपूर्तिमा केही सुधार आएको दावी उनले गरेका छन् ।

प्राधिकरणका प्रदेश प्रमुख निर्देशक ई.नवराज ओझाले विद्युतको उत्पादन र आयातमा आएको समस्याका कारण वितरणमा समस्या देखिएकाले समाधानका लागि पहल भइरहेको बताए । समय तालिका बनाएर विद्युत वितरण गर्न वा उद्योगमा विद्युत प्रवाह गर्न प्राविधिक टोलीसँग परामर्श गरी तत्काल उपाय खोज्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *