प्रदीप र सलोनी सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको च्याम्पियन – Nepal Press

प्रदीप र सलोनी सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको च्याम्पियन

काठमाडौं । प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा च्याम्पियन बनेका छन् ।

प्रदीप र सलोनीको जोडीले शुक्रवार प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा पराजित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले रोहित सुनुवारलाई ६–३ र ६–४ को सीधा सेटमा हराउँदै पहिलो भए । ५५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई फाइनलमा ७–५, १–६ र १०–६ ले पाखा लगाउँदै शीर्ष स्थानमा रहे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्काले प्रणव मानन्धरलाई ७–५ र ६–३ तथा प्रणव खनालले सन्तोष खत्रीलाई ६–१ र ६–२ ले पन्छ्याउँदै फाइनलमा पुगे ।

महिला सिंगल्समा सलोनी तामाङले सर्वानी श्रेष्ठलाई ६–१ र ६–४ तथा अभिलाषा विष्टले इशाश्री शाहलाई ६–२ र ६–४ को सेटमा निराश पार्दै स्वर्ण भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले दावा शेर्पालाई ६–३, ४–६ र १०–४ तथा जितेन्द्र परियारले सीमान्त गुरुङलाई ६–२ र ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४–२ र ४–१ तथा दीपक श्रेष्ठले भरत रायमाझीलाई ४–१ र ४–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरे ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले प्रदीपबहादुर शाहलाई ६–२ र ६–२ तथा निरञ्जनकुमार श्रेष्ठले ध्रुवबहादुर गुरुङलाई ६–४ र ६–१ को सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडीले राजु क्षेत्री र हेमराज ढकालको जोडीलाई ६–३ र ६–१ यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीले शिवप्रसाद सेढाईं र विभु कायस्थको जोडीलाई ६–१ र ६–३ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।

३५ वर्षमाथि पुरुष डबल्समा कमल भण्डारी र सुमित मैनालीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ७–५, ५–७ र १०–७ तथा दावा शेर्पा र जितेन्द्र परियारको जोडीले अनिल साइ र समीर शेरचनको जोडीलाई ६–३ र ६–१ को सेटमा हराउँदै फाइनलमा पुगे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर