जगन्नाथले उम्मेदवारी फिर्ता नलिने, निराश भएर फर्कँदै गृहमन्त्री खाण – Nepal Press

जगन्नाथले उम्मेदवारी फिर्ता नलिने, निराश भएर फर्कँदै गृहमन्त्री खाण

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने भएपछि गृहमन्त्री बालकृष्ण खाण काठमाडौं फर्कँदैछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवार फकाउन कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणलाई खटाए पनि बिनापरिणाम उनी काठमाडौं फर्कन लागेका हुन् । राज्यमन्त्री उमेश श्रेष्ठ पनि आजै काठमाडौं फर्किने बताइएको छ ।

‘जे कामका लागि जानुभएको हो त्यो हुन सकेन’, खाणनिकट एक नेताले भने । ती नेताका अनुसार ‘सम्मानजनक राजनीतिक संरक्षण’ को प्रस्ताव राखिए पनि पौडेलले अस्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाको दूत बनेर चितवन गएका गृहमन्त्री खाण ३ दिन भरतपुर बसेका थिए ।

पौडेलले उम्मेदवारी फिर्ता नलिने संकेत देखिएपछि कांग्रेसले पार्टी निर्णयविपरीत उम्मेदवारी दिनेहरू विधानअनुसार स्वतः पार्टीबाट निष्कासित हुने स्मरण गराएको छ ।

भरतपुरमा प्रमुखको प्रत्याशी बनेका पौडेलले आफूलाई कांग्रेसका हजारौं कार्यकर्ताको साथ रहेको भन्दै उम्मेदवारी फिर्ता नलिने बताएका छन् । पौडेलको निवासमा आज बिहानैदेखि कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थित छ । उनीहरूले उम्मेदवारी फिर्ता नलिन पौडेललाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर