२२ वर्षअघिको पेश्की रकम उम्मेदवार बनेपछि फर्छ्याेट – Nepal Press

२२ वर्षअघिको पेश्की रकम उम्मेदवार बनेपछि फर्छ्याेट

काठमाडाैं । नेपाली कांग्रेसबाट धरान नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका किशोर राईले झन्डै २२ वर्षअघि लिएकाे पेश्की रकम बल्ल फर्छ्याेट गरेका छन् । उनले उम्मेदवारी दर्ता गर्नुअघिमात्रै उक्त पेश्की रकमकाे फरफारक गरेका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकट पाउने निश्चित भएपछि राईले २२ वर्ष लिएकाे पेश्की रकम फरफारक गरी तिर्नुपर्ने रकमसमेत बुझाएका छन् । राईको नाममा २०५६ साल असोज १२ देखि २०६७ वैशाख २७ गतेसम्म विभिन्न समयमा लिएको पेश्की बाँकी रहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार उनले ११ वर्षको अवधिमा पटक–पटक गरी कूल १ लाख ३ हजार ४ सय रुपैयाँ पेस्की लिएका थिए । राईले लामो समयदेखि पेश्की रकम  फर्छ्याेट नगरेको विषयमा पटक–पटक समाचारसमेत आएका थिए । तैपनि फर्छ्याेट गर्न बेवास्ता गर्दै आएका उनले उम्मेदवार बन्ने निश्चित भएपछि रातारात रकम बुझाएका हुन् । २०५४ सालको निर्वाचनमा १२ नं वडामा सदस्य जितेका राईले विभिन्न खेलकुद कार्यक्रमका लागि पेश्की लिएको देखिन्छ ।

उपमहानगरपालिकाले पटक–पटक पेश्की फर्छ्याेट गर्न ताकेतासमेत गरेको थियो । उनले विभिन्न समयमा पेश्की फर्छ्याेट गरे पनि सबै फरफारक भएकाे थिएन । उपमहानगरपालिकाले पेश्की फर्छ्याेट गर्न काटेका पत्रअनुसार राईले २०५६ असोज १२ गते पहिलो पटक साफ खेल अध्ययन तथा अवलोकन गर्न २ हजार ५ सय रुपैयाँ पेश्की लिएका थिए ।

त्यसपछि २०५७ साल असार १८ गते काठमाडाैं जान लिएको भ्रमण पेश्कीमध्ये फर्छ्याेट कट्टा गरी बाँकी रहेको ४ सय, सोही सालको भदौ ८ गते खेलकुद कार्यक्रमको लागि ६ हजार ५ सय, असोज ४ गते वडा नम्बर १२ को ड्रेन सफा गर्न ३ हजार, असोज २७ गते बुढासुब्बा गोल्ड कपको लागि काठमाडाैं जान भ्रमणमा १० हजार, पुस १७ गते काठमाडाैं जान भ्रमणमा ३ हजार ५ सय लिएका थिए ।

त्यसैगरी २०५८ साल भदौ २४ गते पुनः काठमाडाैं जान भ्रमण पेश्की ६ हजार, पुनः फागुन १० गते काठमाडाैं जान ५ हजार, २०५९ असार ३१ गते खेलकुद मन्त्रालय जान ६ हजार ५ सय, २०६५ भदौ ३० गते गोल प्रोजेक्ट उद्घाटन कार्यक्रमका लागि पेस्की १० हजार र अन्तिम पेस्की २०६७ वैशाख २७ गते जनजाति कल्याण आश्रम भवन निर्माण गर्न ५० हजार रुपैयाँ गरी कूल एक लाख ३ हजार ४ सय रुपैयाँ पेस्की रहेको थियो ।

उपमहानगरका अनुसार उनले मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेश्की रकम प्राप्त बैङ्क भौचर नम्बर १०१५६ तथा १०२१५ अनुसार ७९ हजार ४ सय रुपैयाँ फर्छ्याेट गरेका थिए । वैशाख १२ गते सोमबार विभिन्न चेकमार्फत बाँकी २४ हजार रुपैयाँसमेत भुक्तानी गरिएकाे उपमहानगरले जनाएकाे छ ।

उपमहानगरका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाध्यक्ष किशोर राईको मिति २०५७/०६/०४ को ढल सफाइ कार्यको पेश्कट्ठ संलग्न भर्पाइ तथा अर्थ तथा सार्वजनिक लेखा समितिको सिफारिसको आधारमा ३ हजार रुपैयाँ, भौचर नम्बर १२६९ बाट १० हजार र १२७४ भौचर नम्बरबाट ११ हजार रुपैयाँ फर्छ्याेट गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर