२६ वर्षमै गाउँपालिकाको उपाध्यक्ष हाँक्न मैदानमा उत्रिइन् पार्वती – Nepal Press

२६ वर्षमै गाउँपालिकाको उपाध्यक्ष हाँक्न मैदानमा उत्रिइन् पार्वती

गुल्मी । गुल्मीमा २६ वर्षीया युवती गाउँपालिकाको उपाध्यक्ष बन्न चुनावी मैदानमा होमिएकी छिन् । गुल्मीको इस्मा गाउँपालिकाको उपाध्यक्षका लागि २६ वर्षीया पार्वती कुँवर चुनावी मैदानमा होमिएकी हुन् । उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो ।

२६ वर्षको उमेरमै गाउँपालिकाको उपाध्यक्षमा मनोनयन दर्तापछि कुँवरले पाको पार्टीबाट युवा उम्मेदवार बन्न पाएकोमा खुसी व्यक्त गरिन् । राजनीतिलाई समाज सेवाको माध्यम मान्ने कुँवर आफू निर्वाचित भए संवैधानिक दायित्वसँगै महिला सशक्तीकरणका लागि विशेष क्रियाशील रहने बताइन् ।

‘अवसर पाएमा महिलाले पनि पुरुषले भन्दा राम्रो कार्य सम्पादन गर्न सक्छन् भन्ने देखाउनेछु । गाउँपालिका उपाध्यक्षले गर्नैपर्ने कामसँगै गाउँका महिलाका नियमित समस्या समाधान गर्न पहल लिनेछु’, कुँवरले भनिन् । उनले महिलालाई राजनीतिक परिवर्तनको साधनमात्रै बनाउने क्रम छाडेर आसन, भाषण र शासनसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

उनी गुल्मीबाट कांग्रेसको महासमिति सदस्यसमेत हुन् । व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण कुँवरले कानूनमा स्नातकसमेत गरेकी छिन् । आफू कानूनको विद्यार्थी भएकाले न्यायिक समितिलाई उचित नेतृत्व दिन सक्षम रहेको कुँवरको दावी छ ।

सो गाउँपालिकाको अध्यक्षमा गुल्मी कांग्रेसका सचिव भगतसिंह खड्काले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर