ओलीलाई गगन थापाको जवाफ- जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो (भिडिओ) – Nepal Press

ओलीलाई गगन थापाको जवाफ- जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टीको घोषणापत्रमाथि कठोर टिप्पणी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । जसको मुखमा अँगार छ उसले कालै ओकल्ने उनले टिप्पणी गरे ।

आज आयोजित एक कार्यक्रममा बोल्दै थापाले ओलीले अरुका विरुद्ध मुख छाड्नु नयाँ कुरा नभएको बताए ।

थापाले भने, ‘नेकपाका अध्यक्ष ओलीजीले मुख छाड्नुभो भनेर एकजना साथीले सुनाउनुभो । अरे बाबा उहाँले सफा र सालिन बोलेको भए पो नयाँ कुरा । जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो । नयाँ कुरा भएन ।’

ओलीले कांग्रेसको घोषणापत्र बनाउनेलाई पागल भनेको विषयमा पनि कडा टिप्पणी गरे ।

उनले भने, ‘पागल भन्नुभयो, ठीकै छ । तपाईंलाई याद, छ ओलीले कोकोलाई पागल भन्नुहुन्छ ? जसले उहाँको झूटलाई बाहिर ल्यायो उसलाई पागल भन्नुहुन्छ । हिजो सुशिला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । यो पनि कुनै नयाँ कुरा होइन । कुण्ठाले भरिएको अभिव्यक्ति दिएर हलमा कार्यकर्ताको ताली खाएपछि घरमा आनन्दले सुत्ने केपी ओली हो ।’

थापाले थपे, ‘हामीले छापेर वितरण गर्न पाएको छैन, हाम्रै पार्टीका साथीले पढ्न भ्याएका छैनन् । बरा बुढा राति उठेर पृष्ठपृष्ठ पढेछन् । हामीले पाँच वर्ष खेर भएको भनेका छौं । उहाँको भक्तिगान गाउने कुरा त भएन । उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी परेको छ । त्यसैले हाम्रो घोषणापत्र सहन सक्ने कुरा भएन ।’

केपी ओलीलाई रिस उठ्यो भनेर आफूहरूले सत्य बोल्न नछाड्ने उनले बताए । उनले ओलीलाई उत्तेजनामा नआउन सुझाव दिए ।

थापाले भने, ‘बुढाबा, धेरै सनक्क नसन्किनुस् । शरीरलाई अप्ठोरे पर्छ शरीरको ख्याल गर्नुहोला ।’

उनले आफूसँग समय भएमा बालकोटमै गएर ओलीलाई ट्यूसन पढाउने चाहना रहेको पनि बताए ।

थापाले भने, ‘महाधिवेशनका बेला मैले ल्याएको समुन्नत नेपालको अवधारणालाई आफ्नो समृद्ध नेपालको आइडिया चोरेको आरोप लगाउनुभयो । हिजो पनि आफ्नो आइडीया चोर्‍योचोर्‍यो भन्नुभयो । उहाँलाई पनि अहिले दौडधुप छ । मलाई पनि दौडधुप छ । अलिकति भ्याएको खण्डमा म बालकोट गएर उहाँलाई ट्यूसन पढाउँथे । एउटा विषयमा त पढाउनैपर्ने छ । मेरो समृद्धिको आइडिया चोर्देला भनेर राति अनिदो नबस्नुस् । आफ्नो आइडिया आफैंसित राख्नुस् । न मलाई चोर्नुछ, न कांग्रेसलाई चोर्नुछ । तपाईंको समृद्धि र मेरो समुन्नत नेपालको कहीँ भेट हुँदैन ।’

प्रतिक्रिया

One thought on “ओलीलाई गगन थापाको जवाफ- जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो (भिडिओ)

  1. अरुले अँगार निकालेका भए तपाईंले त अन्न खाएर पचेको कुरा पो निकाल्नुभयो त गनगनजी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर