औलोको ‘रेड जोन’ मा कर्णालीका पाँच वडा, गर्भवती महिलालाई झुल वितरण – Nepal Press

औलोको ‘रेड जोन’ मा कर्णालीका पाँच वडा, गर्भवती महिलालाई झुल वितरण

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न पालिकाभित्र पाँच वटा वडाहरू औलो रोगको उच्च जोखिममा रहेको पाइएको छ ।

‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ विश्व औलो दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिकाका वडा नं. २, ३ र ४ नम्बर, मुगुको खत्याड गाउँपालिकाको वडा नं. ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. २ औँलो रोगको उच्च जोखिममा रहेका छन् ।

यस्तै मध्यम जोखिममा कर्णालीका १५ ओटा वडाहरू रहेको उनले बताए । जसमा हुम्लाको अदानचुली वडा नं. २ र ५, चंखेली वडा नं. २, सर्केगाड वडा नं. २, ताजाकोट वडा नं. २, सुर्खेतको भेरिगंगा ७, वीनपा १०, गुर्भाकोटको वडा नं. १३, लेकबेशीको ७ र १०, पञ्चपुरीको वडा नं. ९ रहेका छन् ।

औलो प्रभावित क्षेत्रमा हामीले यो वर्ष २६७१ झुल वितरण गरिएको उनले बताए । गर्भवती महिलालाई २३४९ वटा झुल वितरण गरिएको छ ।

सन् २०२५ सम्म नेपाललाई पूर्ण अ‍ैलो मुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य अनुसार कार्यालयले काम गरिरहेको जनाइएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखा परेको आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *