आईपीएलमा बटलरको ब्याटिङ धमाका- ७ खेलमा ३ शतक र २ अर्धशतक – Nepal Press

आईपीएलमा बटलरको ब्याटिङ धमाका- ७ खेलमा ३ शतक र २ अर्धशतक

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग- आईपीएल क्रिकेटअन्तर्गत यो सिजन इङ्लिस ब्याट्सम्यान जोस बटलरले सानदार प्रदर्शन गरिरहेका छन्।

बटलरले ७ खेल खेल्ने क्रममा ३ शतक र २ अर्धशतक बनाएका छन्। उनको स्ट्राइक रेट १६१.५१ रहेको छ। राजस्थान रोयल्सका प्रारम्भिक ब्याट्सम्यान बटलरले समग्रमा ४९१ रन जोड‍ेका छन् र यो सिजन सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन्।

दोस्रो स्थानमा रहेका गुजरात टाइटन्सका हार्दिक पान्ड्याले ६ खेलमा ३ अर्धशतकसहित २९५ रन जोडे‍का छन्। आईपीएलको यो सिजन बटलरबाहेक लखनउ सुपर जायन्ट्सका केएल राहुलले मात्र शतक बनाएका छन्। उनको नाममा एक शतक रहेको छ।

अंक तालिकामा राजस्थान रोयल्स ७ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ। शीर्षस्थानमा रहेको गुजरातको ७ खेलबाट १२ अंक छ। सनराइजर्स हैदराबादको ७ खेलबाट र रोयल च्यालेन्जर्स बैंगलोरको ८ खेलबाट समान १० अंक छ। बटलरले यसअघिका आईपीएल सिजनमा जम्मा एकपटकमात्र शतक बनाउन सकेका थिए।

तोड्लान् कीर्तिमान ?

आईपीएलको इतिहासमा सबैभन्दा बढी शतक बनाउने ब्याट्सम्यान वेस्ट इन्डिजका क्रिस गेल रहेका छन्। गेलले १४२ खेलका १४१ पाली खेल्दै ६ शतक र ३१ अर्धशतक बनाएका छन्। उनको नाममा चार हजार ९६५ आईपीएल रन रहेको छ।

दोस्रो स्थानमा रहेका भारतका विराट कोहलीले ५ शतक बनाएका छन्। उनले २१५ खेलका २०७ पाली खेल्दै ६ हजार ४०२ रन बनाएका छन्। कोहलीको नाममा ४२ आईपीएल अर्धशतक रहेको छ।

अस्ट्रेलियाका डेभिड वार्नर र सेन वाट्सन तथा इङ्ल्यान्डका बटलरले समान ४ शतक बनाएका छन्। वाट्सनले १४५ खेलका १४१ पालीमा २१ अर्धशतकसहित ३ हजार ८७४ रन बनाएका छन्। वार्नरले १५५ खेलमा ५२ अर्धशतकसहित ५ हजार ६६८ रन बनाएका छन्। बटलरले भने केवल ७२ खेलका ७१ पालीमा १३ अर्धशतकसहित २ हजार ४५९ रन बनाएका छन्।

प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी रनको पाली खेल्ने कीर्तिमान गेलको नाममा छ। उनले १७५ रन बनाएका थिए। कोहलीले ११३, वार्नरले १२६, वाट्सनले ११७ र बटलरले १२४ रनसम्मको पाली खेलेका छन्। तीनपटक शतक प्रहार गर्ने दुई खेलाडी छन्। भारतका केएल राहुल र सन्जु सामसनले समान ३ शतक बनाएका छन् । तर, उनीहरु दुवैले एक सयभन्दा बढी आईपीएल खेल खेलेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर