आजदेखि मेलम्चीको पानी काठमाडौंका घर-घरमा, दोस्रोपटक उद्घाटन – Nepal Press

आजदेखि मेलम्चीको पानी काठमाडौंका घर-घरमा, दोस्रोपटक उद्घाटन

काठमाडौं । आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेकाे छ ।

खानेपानीमन्त्री उमाकान्त चाैधरीले  उद्घाटन गर्दै मीनभवन स्थित पानीट्यांकीबाट आजदेखि मेलम्चीको पानी वितरण थालिएको हो ।

पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गत वर्ष वितरण हुन नसकेका ठाउँमा पानी वितरण गरिने बताए । उनले भने, ‘अघिल्लो वर्ष के–कारणले ती ठाउँमा पानी नपुगेको हो, त्यो हेरेर त्यसको समाधान गरिनेछ ।’

अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण थालिएको हो ।

पानी वितरणका क्रममा पाइपमा चुहावट हुँदा मर्मत तत्काल गर्नुपर्ने उनको भनाइ छ । गत वर्ष सडकले अनुमति नदिँदा मर्मत गर्न ढिला भएको थियो । उनले भने, ‘सडक खन्नासाथ तत्काल मर्मत गर्न नपाउँदा ढिला हुन्छ । मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिने तयारी गरिएको छ ।’

गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो । अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइनेछ । उनले भने, ‘पाँच करोडबाट सुरु गरिएपछि छ करोड लिटर हुँदै आठ करोड लिटरबाट बढाइएको हो ।’

गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौँ ल्याइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *