स्कुलको मुहार फेरियो, अब गाउँको मुहार फेर्न हेडसरको राजीनामा – Nepal Press

स्कुलको मुहार फेरियो, अब गाउँको मुहार फेर्न हेडसरको राजीनामा

रामेछाप । १३ वर्षअघि सन्तोष पौडेल निम्न माध्यमिक विद्यालयको राहत दरबन्दीको शिक्षक भएर अरुणोदय स्कुलमा जाँदा खेदका गह्राको छाप्रामा पढाउँथे । अहिले पक्की आधुनिक विद्यालय भवन समुदायलाई हस्तान्तरण गरेर उनी भने अब विद्यालयजस्तै आफ्नो गाउँ बनाउने भनेर राजीनामा दिएर हिँडेका छन् ।

रामेछापका लिखु तामाकोशी वडा नम्बर २ को सैपु फेदीस्थित अरुणोदय माविको मुहार फेर्ने अभियानमा यहाँका गाउँलेले सन्तोषलाई अगाडि बढाएका थिए । उनलाई अभिभावकले स्कुलको हेडमास्टर पनि बनाए ।

सन्तोष अरुणोदयको शिक्षक मात्र थिएनन्, यहि गाउँका एक विकास अभियन्ता पनि भएका कारण दाता खोजेर विद्यालय बनाउने अभियानमा लागे ।

विद्यालय बनाउन जग्गा दिने उद्धब पौडेल आज यो संसारमा छैनन्, तर उनले दिएको जग्गामा आकर्षक र उत्कृष्ट विद्यालय स्थापित गरेर यहाँका गाउँलेले उनको आत्मालाई पनि शान्ति दिएका छन् ।

बेलौरीबाट फेदीमा सडक आएपछि स्कुल पनि सारिएको थियो । पुर्वाधारबिनाको विद्यालयलाई शहीद उज्ज्वन गणेश स्मृति प्रतिष्ठानकी साबित्री श्रेष्ठलगायतको सहयोगबाट आजको अवस्थामा पुर्याउन सन्तोष पौडेल, गंगा कार्की, लालप्रसाद पौडेल, टीका पौडेल लगायतको टिमले सफलता पायो ।

स्थानीयको सहयोग, विभिन्न निकायसँगको समन्वयकै कारण विद्यालय यो अवस्थामा आएको उनी बताउँछन् । सन्तोषले केही दिनअघिमात्र फेसबुकमा लामो स्टाटसमा विद्यालयका विभिन्न समयक्रममा तस्बिर राख्दै आफूले राजीनामा दिएर नयाँ बाटो तय गरेको जानकारी दिए ।

उनको त्यो नयाँ बाटो भनेको अब शिक्षकबाट जनप्रतिनिधि बनेर विद्यालयजस्तै आफ्नो गाउँको पनि स्वरुप फेर्ने हो । नेकपा एमालेबाट लिखु तामाकोशी गाउँपालिका २ को वडाध्यक्ष उम्मेदवार बनेका पौडेलले गाउँबाट बेसी धाएर जुन काम गरे त्यसले उनलाई दुवै भेगमा स्थापित समेत गरेको छ ।

अहिले अरुणोदय स्कुल यो भेगका आकर्षणको केन्द्र बनेको छ । सन्तोषको टिमको मेहनतले छाप्रोबाट आधुनिक भवन र भुइँको कक्षाबाट डिजिटल क्लासमा बदलेको छ । स्कुल बदल्न सक्नेले गाउँ पनि बदल्न सक्छ भन्ने प्रमाणित गर्न उनको लागि चुनौति भने अवश्य हुनेछ ।

गाउँकै मान्छेले स्कुल बन्यो अब गाउँ बनाउनुपर्छ भनेपछि आफू त्यो जिम्मेवारीका लागि अग्रसर भएको पौडेलले बताएका छन् । २०७४ सालको निर्वाचनमा सो वडाबाट कांग्रेस माओवादी गठबन्धनका पदम तामाङले वडाध्यक्ष जित्दा एमालेका तीन सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *