धनुषा कांग्रेस सभापति नै मेयरको रेसबाट आउट, दोहोरिन खोज्दा सिफारिसमै परेनन् – Nepal Press

धनुषा कांग्रेस सभापति नै मेयरको रेसबाट आउट, दोहोरिन खोज्दा सिफारिसमै परेनन्

जनकपुरधाम । नेपाली कांग्रेस धनुषामा टिकटका लागि चरम विवाद देखिएको छ । गुट उपगुट सक्रिय बनेपछि पुन: मेयरको उम्मेदवार बन्ने प्रतिस्पर्धाबाट जिल्ला सभापति योगेन्द्र पजियार नै आउट भएका हुन् ।

पजियार ०७४ को स्थानीय निर्वाचनमा क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी पुनस् मेयरमा चुनाव लड्न राजीनामा समेत दिइसकेका छन् । तर मेयरका लागि नगर कमिटीले उनको नाम नै सिफारिस गरेकाे छैन ।

वैशाख ८ मा बसेको नगर कमिटीको बैठकबाट मेयरका लागि लालबाबु यादवको नाम बहुमतले सिफारिस गरेको हो । वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका यादव पार्टीका नगर सभापति हुन् । उनले ६९ सदस्यीय नगर कमिटिमध्ये ४३ जना आफ्नो एकल नाम मेयरका लागि सिफारिस गरेको बताए ।

उनका अनुसार उपमेयरका लागि रचना माधेमा र भावना ढुंगेलको नाम सिफारिस भएको छ । माधेमा गत निर्वाचनमा निर्वाचित उपमेयर हुन् । उनी पुनस् चुनाव लड्न राजीनामा दिइसकेकी छन् ।

मेयरमा सिफारिस भएका नगर सभापति यादव नेता शेखर कोइराला समूहमा छन् । जिल्ला सभापति तथा मेयर पजियार विमलेन्द्र निधी समूहका हुन् । पुनस् मेयरमा लड्न तयारी थालिसकेका पजियारलाई नगर कमिटीले आउट गरेपछि उनी संकटमा परेका छन् ।

पजियारले नगर कमिटीले मेयरका लागि आफ्नो नाम सिफारिस नगरेको कुरा थाहा नभएको बताए । उम्मेदवार सिफारिस गर्न नगर कमिटीको बैठक नै नबसेको उनको दावी छ । भोली र पर्सी मनोनयन दर्ताको समय छ, अनी कहिले उम्मेदवार सिफारिस हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘भोली हुन्छ । नभए पर्सी पनि हुनसक्छ ।’

यता, नगर कमिटीले उम्मेदवारको सिफारिस क्षेत्र, जिल्ला र प्रदेशमा पठाइसकेको जनाएको छ । प्रदेश कमिटीले जिल्लाको चुनावी कमाण्ड सम्हाल्नुपर्ने भन्दै जिल्ला सभापतिहरुलाई चुनाव नलड्न भनेको छ । यो हिसावले पनि सभापति पजियार यो निर्वाचनमा आउट हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर