भूपेन्द्र र पुरन वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा – Nepal Press

भूपेन्द्र र पुरन वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

वसन्तपुर डबलीमा शुक्रवार भएको पुरुष ६३ केजी तौल समूहको सेमिफाइनल खेलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् ।

उनी १३औँ दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता खेलाडी हुन् । सोही तौल समूहमा त्रिभुवन आर्मी क्लबका पुरन सुनारले लुम्बिनी प्रदेशका अनिल पुन मगरलाई हराउँदै भूपेन्द्रसँगको उपाधि भिडन्त पक्का गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपीएफका प्रदीप महर्जनले फाइनलमा स्थान बनाए ।

प्रेमले पुलिसका चन्द्रबहादुर थापा र प्रदीपले मधेस प्रदेशका मदनकृष्ण डंगोलले हराएका थिए । पुरुषकै ५७ केजीमा आर्मीका इन्द्र सुनारले पुलिसका शम्भु राजवंशी र एपीएफका पुरन राईले गण्डकी प्रदेशका सौगात कुमाललाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

पुरुषकै ६९ केजी तौल समूहमा पुलिसका सनिल शाही र आर्मीका दनबहादुर दर्लामीले उपाधि भिडन्त पक्का गरे । १३औँ सागका स्वर्ण विजेता सनिलले सुदूरपश्चिम प्रदेशका भरत चन्द र दनबहादुरले बागमती प्रदेशका सिरिस खनाललाई पराजित गरे ।

पुरुषको ७५ केजीमा आर्मीका दीपेश लामाले मधेस प्रदेशका कोसिस श्रेष्ठ र प्रदेश १ का सनम गुरुङले कर्णाली प्रदेशका दिल राज भण्डारीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

८१ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ र सुदूरपश्चिमका श्यामबहादुर महताले उपाधि भिडन्त पक्का गरे । दीपकले प्रदेश १ का प्रसाङ लिम्बू र श्यामले बागमती प्रदेशका रोशन स्याङ्तानलाई पराजित गरे ।

पुरुषकै ९१ केजी तौल समूहमा एपीएफका रविन नेपाल र आर्मीका गणेश प्रधानले उपाधि भिडन्त पक्का गरे । रविनले गण्डकी प्रदेशका किरण विक र गणेशले प्रदेश १ का प्रसिश रुचाललाई स्तब्ध बनाए ।

यस्तै,महिलाको ५१ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्मा र आर्मीकी मीनु गुरुङ फाइनल प्रवेश गरे । दिवानाले एपीएफकी सञ्जुमाया थिङ र मीनुले लुम्बिनी प्रदेशकी माया खत्रीलाई पराजित गरेकी थिइन् । ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी नङ्जा बुढामगर र पुलिसकी निशा तामाङले प्रदेश १ की सुस्मिता राईलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

६० केजीमा आर्मीकी संगीता दंगाल र एपीएफकी संगीता सुनारले फाइनलमा स्थान बनाए । दंगालले बागमती प्रदेशकी शशीकला राई र सुनारले प्रदेश १ की नारिका राई पराजित गरे ।

महिला ६९ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरले लुम्बिनी प्रदेशकी जुनमाया थारु र आर्मीकी पुनम रावलले मधेस प्रदेशकी अपराजिता गोतानीलाई हराउँदै फाइनलमा स्थान बनाए । महिलाकै ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राना र आर्मीकी निरु गुरुङ फाइनलमा पुगे । सरस्वतीले मधेस प्रदेशकी पूजा गुप्ता र निरुले प्रदेश १ की त्रिशा लिम्बूलाई पराजित गरे ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीको सहभागिता रहेको छ ।

प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर