कडाइ गर्दा पनि घटेन आयात, १६ खर्बको वैदेशिक व्यापारमा १३ खर्ब घाटा – Nepal Press

कडाइ गर्दा पनि घटेन आयात, १६ खर्बको वैदेशिक व्यापारमा १३ खर्ब घाटा

काठमाडौं । सरकारले विदेशी बस्तु आयातमा कडाइ गर्दा पनि व्यापार घाटा वृद्धि हुँदै गइरहेको छ । सरकारले धेरै बस्तुको आयातमा कडाइ र केही बस्तुको आयात रोक्दा पनि व्यापार घाटा वृद्धि हुँदै गएको हो ।

चालू आर्थिक वर्षको ९ महिनासम्ममा नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतसम्म महिनासम्मको तथ्याङ्क अनुसार ९ महिनामा नै १३ खर्ब बढीको व्यापार घाटा भएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको थियो । सरकारले आयात कडाइ गर्दा पनि ३ खर्बले व्यापार घाटा वृद्धि भएको छ ।

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।

चालू आवको नौ महिनामा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तै गरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९।४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाखको नेपाली बस्तु विदेश गएको छ ।

गत आर्थिक वर्षको ९ महिनामा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको बस्तु निर्यात भएको थियो ।

२ खर्बको पेट्रोलियम पदार्थको आयात

चालू आबको ९ महिनासम्म २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात नेपाल आएको छ । भने, सोही समयमा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यास गरी १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

सबैभन्दा बढी १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल, ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोल र ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ ।

नेपालबाट ४५ अर्बको सोयाविन तेल निर्यात

९ महिनाको समयमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल नेपालबाट विदेश निर्यात भएको छ । त्यस्तै, ३२ अर्ब ४ करोड ७८ लाख बराबरको पाम तेल नेपालबाट निर्यात भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *