पुजा शर्माको दुखेसो: मेरो हरेक फिल्मको अफर पहिले अनमोलकहाँ जान्छ, तर सँगै काम गर्न जुरेन – Nepal Press

पुजा शर्माको दुखेसो: मेरो हरेक फिल्मको अफर पहिले अनमोलकहाँ जान्छ, तर सँगै काम गर्न जुरेन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार अनमोल केसीसँग काम गर्न धेरै नायिकाहरु लालायित छन् । तर, वर्षमा एउटा मात्रै फिल्म खेल्ने भएकाले उनीसँग काम गर्ने मौका थोरैलाई मात्रै जुर्छ । त्यसमाथि उनले हरेक चलचित्रमा नयाँ नायिकाहरुसँग काम गर्ने गरेका छन् ।

अनमोलसँग काम गर्न आतुर नायिकाहरुको सूचीमा आउँछिन् पुजा शर्मा पनि । आफैंले फिल्म निर्माणसमेत गर्ने गरेकी पुजाले हिजो सार्वजनिक रुपमा नै अनमोलसँग काम गर्न नजुरेको दुखेसो पोखिन् । अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ हेर्न हलसम्म पुगेका बेला सञ्चारकर्मीसँग उनले यस्तो दुखेसो गरेकी थिइन् ।

पुजाले चलचित्रमा अनमोल र नायिका सुहाना थापाको अभिनयको खुलेर तारिफ गरिन् । चलचित्र राम्रो बनेको भन्दै उनले निर्देशक झरना थापालाई धन्यवाद दिइन् ।

पूजालाई सञ्चारकर्मीले अनमोलसँग एकसाथ पर्दामा देखिने सम्भावनाबारे सोधेका थिए ।

जवाफमा उनले भनिन्, ‘अनमोल र म एकैसाथ ईन्डस्ट्रीमा आएका हौं । उसको कलाकारितामा निखर आएको देखेर म एकदमै खुसी छु । तर खोई लक नभएको हो कि नजुरेको हो, कहिल्यै एकसाथ पर्दामा सँगै हुन पाइएन ।’

त्यसो त पुजा र अनमोलको भेट नै ७ वर्षपछि भएको हो । तर, आफूले निर्माण गरेका हरेक चलचित्रमा अनमोललाई पहिले अफर गर्ने गरेको पूजाले सुनाइन् ।

‘मैले चलचित्र बनाउँदा होस् या मैले खेलेको चलचित्रमा, सुरुमा अफर अनमोललाई नै जान्छ । तर सायद फिल्म जुधेर हो या कामको व्यस्तताले कहिल्यै अवसर जुरेन,’ पूजाले भनिन् ।

अनमोलले आफू पूजाको ठूलो फ्यान भएको बताउँदै अब छिट्टै एकसाथ काम गर्ने आश्वासन दिए ।

स्मरणीय छ कि, यसअघि पुजाले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को प्रिमियरमा निम्तो पाएर पनि अनमोल गएका थिएनन् । यसमा पूजाको चित्तदुखाइ पनि थियो । हिजो भेट हुँदा सञ्चारकर्मीकै अगाडि पूजाले आफ्नो चलचित्र हेर्न नआएको भन्दै जिस्केर अनमोलको कान निमोठिदिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *