काठमाडौंसहित ७ जिल्लामा पठाइयो निर्वाचन सामग्री: पर्यवेक्षकले आफ्नै स्थानीय तहमा पर्यवेक्षण गर्न नपाउने – Nepal Press

काठमाडौंसहित ७ जिल्लामा पठाइयो निर्वाचन सामग्री: पर्यवेक्षकले आफ्नै स्थानीय तहमा पर्यवेक्षण गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि जिल्लामा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।

बिहीबार पहिलो दिन काठमाडाैंसहित मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ र सोलुखुम्बुमा निर्वाचन सामग्री पठाएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार अन्य जिल्लामा पनि क्रमश: निर्वाचन सामग्री पठाइने छ ।

४४ वटा संस्थाले निर्वाचन पर्यवेक्षण गर्ने

आयाेगका अनुसार ४४ वटा संस्थाले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ बमोजिमको मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

उनका अनुसार ४४ वटा संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले मुलुकभरका मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्नेछन् । आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा भने पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्न नपाउने आयोगले जनाएको छ ।

पर्यवेक्षकलाई आयोगले पर्यवेक्षण गर्ने मतदानस्थलसमेत खुलाएर छुट्टाछुट्टै परिचयपत्र उपलब्ध गराउने छ । पर्यवेक्षकले निर्वाचन प्रक्रियाको पर्यवेक्षण गरी तोकिएको ढाँचामा आयोगसमक्ष प्रतिवेदनसमेत बुझाउनुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *