सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता – Nepal Press

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

काठमाडौं । सिटिजन्स बैंक १५ औं वर्ष पूरा गरी १६औंमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो ।

बैंकले १५ वर्षको अवधि पार गर्दा करिब १३ लाख ५५ हजार ग्राहकलाई वित्तिय सेवा प्रदान गरेको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने कर्जा १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । सोही अवधिमा करिब १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गर्न सफल भएको छ ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएको बताए । उनले भने, ‘हामी हाम्रा आदरणीय ग्राहकहरूको सेवा गर्नका निमित्त काम गर्छौं । यसैले हामी हाम्रा मूल्य मान्यताहरुलाई गम्भीर रूपमा लिन्छौं । सही काम गर्न प्रतिबद्ध छौं । यस सिद्धान्तप्रतिको हाम्रो समर्पण हाम्रो कम्पनीमा जनताको विश्वास कायम राख्ने कुञ्जी भएको छ, जुन हाम्रो दीर्घकालीन सफलताको अभिन्न अंग हो ।’

बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले मिशन टप टेन रणनीतिमार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको बताए । उनले भने, ‘आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ । साथसाथै उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमा व्यक्तिगत पहुँचमा ल्याईनेछ । बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ । बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमासहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *