मुख्यमन्त्री प्रमुख अतिथि रहेको सुन्दरी प्रतियोगितामा सहभागीलाई यसरी झुक्याइयो – Nepal Press

मुख्यमन्त्री प्रमुख अतिथि रहेको सुन्दरी प्रतियोगितामा सहभागीलाई यसरी झुक्याइयो

इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि भएर आयोजना गरिएको सुन्दरी प्रतियोगितामा आयोजकले प्रतियोगीहरूलाई छलेको पाइएको छ ।

‘मिस इटहरी २०२२’ नामक सुन्दरी प्रतियोगिताका विजेताले मिस नेपालमा स्वतः सहभागिता पाउने आयोजक ग्लोबल ड्रीम म्यानेजमेन्ट प्रालिले सार्वजनिक दाबी गरेको थियो ।

इटहरीको होटेल मादेन इनमा सोमबार साँझबाट मध्यरातसम्म भएको प्रतियोगिताका विजेताले मिस नेपालमा सहभागिता जनाउन पाउने उद्घोषकले पटक पटक सुनाएकी थिइन्। तर, आयोजकको यो दाबी झूटो भएको मिस नेपाल आयोजकले नेपाल प्रेसलाई बतायो ।

मिस नेपाल आयोजक हिडेन ट्रेजर स्रोतले आफ्नो नाम नलेख्न आग्रह गर्दै मिस इटहरी २०२२ को विजेता मिस नेपालमा सहभागिता हुने बारेमा सम्झौता नभएको बतायो । स्रोतका अनुसार अहिलेसम्म मिस सुदूरपश्चिमले मात्रै सहभागिता जनाउने प्रावधान छ ।

‘२० देखि २५ सहभागी छानेर मिस नेपाल आयोजना हुन्छ । अडिसन धरान, धनगढी, पोखरा, सुर्खेत, वीरगन्ज, नेपालगञ्जमा हुने हो । मिस इटहरी २०२२ ले पनि प्रतियोगितामा भाग लिन चाहे अडिसनबाटै आउनुपर्छ ।’

आयोजक ग्लोबल ड्रीम म्यानेजमेन्ट प्रालिका प्रमुख स्मित कार्कीले भने मिस नेपालमा सिधा सहभागी हुने सम्झौता भएको दाबी गरे । तर, नेपाल प्रेसले सम्झौता माग्दा उनले दिन सकेनन् ।

हिडेन ट्रेजरसग सन २०२० मा मात्रै सम्झौता भएको तर २०२२ को लागि कुनै अद्यावधिक नभएकोले यो संस्करणका विजेताले सहभागी हुन नपाउने एडमीन अफिसरले नेपाल प्रेसलाई जानकारी दिइन्।

चैत्र ६ बाट क्लोज क्याम्प सुरु गरेर अगाडि बढेको मिस इटहरीको ‘ग्रान्ड फिनाले’ सोमबार साँझबाट मध्यरातसम्म भएको थियो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि थिए । यार्सागुम्बा रक्सीले प्रायोजन गरेको कार्यक्रममा मुख्यमन्त्री राईले मदिरा विदेशीलाई बेचेर डलर ल्याउनुपर्ने भाषण गरे ।

समारोहमा मिस इटहरी २०२२ कि विजेता डिना कटुवाललाई घोषणा गरिएको थियो । यस्तै, फर्स्ट रनर अप र सेकेन्ड रनरअपमा क्रमशः विपना शाह शंकर र सारा राई छानिएका थिए । झन्डै एक महिना एक हप्ता भएको सुन्दरी प्रतियोगितामा १४ सहभागी क्लोज क्याम्पमा थिए । विजेताहरू बाहेक अरूलाई दिने अन्य टाइटलहरू आयोजकले नबाँडेपछि प्रतियोगीहरू रुष्ट भएका छन् ।

नेपाल प्रेससँग बोल्दै एक सहभागीले भनिन्, ‘हामीलाई फिनालेको दिन पनि राम्रो प्रस्तुति दिनेभन्दा हजार रुपैयाँ गोटाका टिकट विक्री गर्नमै दबाब थियो । भोटिङको लगानी उत्तिकै थियो । तर, अन्य टाइटल दिइएन ।’

प्रतिक्रिया

One thought on “मुख्यमन्त्री प्रमुख अतिथि रहेको सुन्दरी प्रतियोगितामा सहभागीलाई यसरी झुक्याइयो

  1. samachar chapnu aghadi ali bistrit jankari prapta gare paxi matra pulished garda ramro hunthyo little knowledge is dangerous…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *