मनकारी मोहनः भत्ताको रकमबाट अक्षयकोष निर्माण – Nepal Press

मनकारी मोहनः भत्ताको रकमबाट अक्षयकोष निर्माण

रुपन्देही । पत्रकारितामा तीन दशकदेखि क्रियाशील रुपन्देहीका मोहन चापागाईले भत्ता र पुरस्कारको रकमबाट अक्षयकोष स्थापना गरेका छन् ।

लामो समयको पत्रकारितापछि सञ्चार उद्यमी र व्यवसायीसँगै अहिले राजनीतिमा जोडिएका चापागाईंले आफूले पाएको भत्ता र पुरस्कारमा अतिरिक्त आम्दानी थपेर ७ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ शंकरनगर निवासी चापागाईंले विभिन्न क्षेत्रमा अतुलनीय योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार दिने घोषणासहित उक्त अक्षयकोष स्थापना गरेका छन् ।

उनले आफ्ना दिवंगत आमा र बुवाको सम्मानमा ज्ञानकाशी स्मृति प्रतिष्ठानसमेत स्थापना गरेका छन् । सोही प्रतिष्ठानको नाममा उक्त अक्षयकोष राखिएको छ । अक्षयकोषको ब्याज रकमबाट प्रारम्भिक चरणमा ३ विधामा वार्षिक ७५ हजार पुरस्कार दिने चापागाईंले घोषणा गरिसकेका छन् । उक्त घोषणाअनुसार चापागाईंले स्थापना गरेको अक्षयकोषको रकमबाट तिलोत्तमा मिडिया क्लबले ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

फरक क्षमताका पत्रकार टीकाराम घिमिरेलाई २५ हजार राशीको पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार वितरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चापागाईंले स्थापना गरेको अक्षयकोषले समाजमा राम्रो गर्नेलाई उत्प्रेरणा दिने भन्दै प्रशंसा गरेका थिए ।

चापागाईं नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष, पश्चिमाञ्चल संयोजक तथा केन्द्रीय सदस्यसमेत भइसकेका छन् । त्यस्तै प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष, सामुदायिक रेडियो प्रसारक सघ (अकोराब) को केन्द्रीय अध्यक्षसमेत रहिसकेका उनी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवलका सञ्चालक हुन् ।

उनले पत्रकार महासंघको केन्द्रीय सदस्य र अकोरावको केन्द्रीय अध्यक्ष हुँदा बैठक भत्ताबापत पाएको रकम र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट पाएको बैठक भत्ताबापतको रकमबाट अक्षयकोष स्थापना गरेका हुन् । ‘अतिरिक्त कमाई कल्याणकारी काममा खर्च गर्नुपर्छ भन्ने ठानेर अक्षयकोष स्थापना गरेको हुँ’, उनले भने ।

हरेक वर्ष विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई पुरस्कार प्रदान गर्ने सोच रहेको चापागाईंले बताए । ‘मैले अब पाउने भत्ताको रकम पनि यहीं अक्षयकोषमै जम्मा हुनेछ । कोषको रकम बढेसँगै पुरस्कारको राशी र विधा पनि थपिन्छन्’, उनले भने ।

चापागाईं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । यसअघि रुपन्देही जिल्ला कमिटीमा रहँदा प्रचार विभाग प्रमुख रहेका उनले एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा सञ्चार विज्ञका रुपमा काम गरेका थिए । चापागाईंलाई वैशाख ३० गते हुने निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरका लागि एमाले नगर कमिटीले माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर