कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी – Nepal Press

कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

काठमाडौं । पार्टीभित्र चुनावी तालमेलबारे जति नै असन्तुष्टी भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको निरन्तरतामा प्रतिवद्ध देखिन्छन् । आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्मै देउवाले ‘आफूलाई प्रधानमन्त्री बनाउने दलहरुको साथ नछाड्ने’ वाचा गरेका छन् ।

शनिबारमात्रै कांग्रेसको कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धन जोगाएर लैजाने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताएका थिए । उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दललाई अलपत्र नपार्ने बताएका छन् ।

चुनावी गठबन्धनलाई राजनीतिक रुपमा पुष्टि गर्न देउवाले यस्ता धारणा राखेपनि उनको वचन उनैविरुद्ध ‘बार्गेनिङ’ को साधन बन्न थालेको छ । चुनावी तालमेल नगरे माओवादीले एमालेसँग गठबन्धन गर्नसक्ने भय देउवाले कांग्रेस कार्यकर्तालाई देखाउँदै आएका छन् । प्रचण्डसहित गठबन्धनका नेताहरुले भने त्यही डर देउवालाई देखाएर बढीभन्दा बढी शक्ति आर्जन गर्न खोजेका छन् ।

माओवादी, एस र जसपा संगठित भाग खोज्दै

चुनावी तालमेलबारे कांग्रेसमा किचलो जारी नै छ । अधिकांश जिल्लामा तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता उभिएका छन् । यद्यपि सभापति देउवाले भने गठबन्धन जसरीपनि जोगाउने प्रतिवद्धता जनाउँदै आएका छन् ।

कांग्रेसभित्र बढ्दो किचलोबीच गठबन्धनमा रहेका अन्य दलहरुले पनि कांग्रेसमाथि नै दवाव बढाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले त आपसमै सल्लाह गरेर सामुहिक सौदाबाजीको अभ्यास थालेका छन् ।

आइतबारको गठबन्धन बैठकमा यी तीन दलले ३ महानगरपालिकार १० उपमहानगरपालिकामा आफ्नो दावी प्रस्तुत गरे । हेटौडा उपमहानरमा माओवादी र नेकपा एस दुवैको दावी रह्यो ।

त्यसबाहेक सबैतिर तीन दलले एकल दावी प्रस्तुत गरेका छन् । तीन दलको दावी हेर्दा नै कांग्रेसविरुद्ध संगठित सौदाबाजी भइरहेको पुष्टी हुने एक नेताले बताए । ‘प्रचण्ड, माधव र उपेन्द्रजी चै एउटै पार्टीको भएझै प्रस्तुति देखिन्छ । गठन्धनमा शक्ति बाँडफाँटमा उहाँहरुको सामुहिक सौदाबाजी देखिन्छ । कांग्रेस एक्लै परेको छ’, बैठकमा सहभागि कांग्रेस नेताको भनाई छ ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबारमात्रै गठबन्धन कार्यदल बैठकअघि जसपाका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच निरन्तर संवाद हुँदै आइरहेको छ । एक्लाएक्लै प्रस्तुत हुँदा कांग्रेसको बार्गेनिङ पावर बढ्ने भएकोले ती दलबीच ‘कार्यगत एकता’ भएको हो ।

कांग्रेसले मान्ला त २४ प्रतिशत ?

गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति छ । पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिमा आइतबार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको नेतृत्व बाँडफाँटबारे छलफल भयो ।

बैठकमा माओवादी, समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दावी गरेका छन् । माओवादीले भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका, जितपुर सिमरा उपमहानरपालिका, घोराही उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर पदको दावी गरेको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहानरपालिकामा नेतृत्व दावी गरेको छ । बुटवलमा पनि नेकपा एसको दावी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा उपमेयर मागेको छ ।

त्यस्तै जसपाले वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख दावी गरेको छ । तर धरान उपमहानगरपालिकामा पनि जसपाको झिनो दावी छ ।

गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्वबारे केन्द्रबाटै टुंगो लगाउने सहमति यसअघि नै भइसकेको छ । जस अनुसार ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रीत छ । १७ मध्ये १३ वटा स्थानीय तह अर्थात ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा माओवादी, समाजवादी र जसपाले दावी गरेका छन् ।

आइतबारको बैठकका आधारमा काठमाडौं, विराटनगर र ललितपुर महानगर तथा धनगढी उपमहानगरपालिकामा मात्रै तीन दलले दावी गरेनन् । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सबै तहको नेतृत्वमा कांग्रेसको दावी स्वतः रहने बताउँछन् ।

‘हामी त गठबन्धनको प्रमुख शक्ति हौं । अन्य दलहरुले आफ्नो दावी राखेका छन् । हाम्रो त सबैमा स्वतः दावी छ नि’, पौडेलले भने ।

गठबन्धन बैठकमा तीन दलको सामूहिक सौदाबाजी सुरु भएपछि कांग्रेस भने दवावमा परेको छ ।

आरजुको क्षेत्रमा तीन दलले गरेनन् दावी

मुलुकका ११ वटा उपमहानगरपालिकामध्ये धनगढी उपमहानगरपालिकाको प्रमुखमा मात्रै माओवादी, समाजवादी र जसपाले दावी गरेनन् । सो उपमहानगरपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणाको निर्वाचन क्षेत्रमा पर्ने धनगढीमा चाहिँ अन्य दलहरुले दावी नगर्नुलाई चासोका साथ लिइएको छ ।

प्रतिक्रिया

2 thoughts on “कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

  1. देउवाले अब घाेषणा गर्दिन्छन् कि सबै पालिका लैजाउ तर प्रधानमन्त्रीमा समर्थन चाहिँ गरिराख । देउवाले काँग्रेस खाने भए प्रधानमन्त्रीकाे लागि । प्रचण्डले माओवादी खाने भए छाेरीकाे लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर