प्रदेश १ का ३२१ मतदान स्थल ‘अति संवेदनशील’ – Nepal Press

प्रदेश १ का ३२१ मतदान स्थल ‘अति संवेदनशील’

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनमा प्रदेश १ मा १ हजार ८७७ मतदान स्थलमध्ये ३२१ वटा ‘अति संवेदनशील’ रहेका छन् । सुरक्षा विश्लेषणअनुसार नेपाल–भारत सिमा क्षेत्रमा पर्ने यी मतदान स्थलमा ‘वादविवाद तथा झैभगडा हुने वा बुथ क्याप्चरको सम्भावना छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार निर्वाचन आयोगले प्रदेशको सबैभन्दा बढी झापाका मतदान स्थल ‘अति संवेदनशील’ मा वर्गीकरण गरेको छ ।

झापापछि मोरङ र सुनसरीका मतदान स्थल अति संवेदनशील रहेका छन् । सुरक्षा निकायले सोहीअनुसार विश्लेषण गरी सुरक्षा रणनीति अपनाएको छ । विशेष गरी भारतसँग जोडिएका तराईका झापा, मोरङ र सुनसरीका स्थानीय तहहरूका मतदान स्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशील मानेका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले ३ तहमा वर्गीकरण गरिएको बताए । सो वर्गीकरणअनुसार १४ जिल्ला रहेको प्रदेश १ मा ४ हजार ५१ वटा मतदान केन्द्रअन्तर्गतका एक हजार ८७७ मतदान स्थलमध्ये ३२१ मतदान केन्द्र अति संवेदनशील रहेको उनले जानकारी दिए ।

एसपी राईका अनुसार प्रदेशमा ८४९ वटा संवेदनशील र ७०७ वटा मतदान स्थल सामान्यमा वर्गीकरण गरिएको छ। ७७७ मतदान केन्द्र र २८६ मतदान स्थल रहेको झापामा ५१ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । यस्तै १५३ संवेदनशील र ८२ वटा सामान्य सूचीमा छन् ।

झापापछि सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङका ४९ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् । ८२० वटा मतदान केन्द्र र ३०० वटा मतदान स्थल रहेको मोरङमा संवेदनशील १५५ र ९६ वटा सामान्य रहेको एसपी राईले बताए । मोरङको अति संवेदनशील सूचीमा राखेको मतदान स्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मतदान स्थल पनि छन् ।

रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदान स्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्र मानेर सुरक्षा योजना अगाडि बढाएको छ ।

५८१ मतदान केन्द्र र १६६ मतदान स्थल रहेको सुनसरीमा ४४ वटा अति संवेदनशील, ८० संवेदनशील र ४२ वटा सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै १५९ मतदान केन्द्र र ११८ मतदान स्थल रहेको धनकुटामा १५ वटा मतदान स्थल अति संवेदनशील छन् । २५८ मतदान केन्द्र र ९८ मतदान स्थल रहेको उदयपुरमा १२ अति संवेदनशील, ५० संवेदनशील र ३६ मतदान स्थल सामान्य रहेका छन् । २८५ मतदान केन्द्र र १५१ मतदान स्थल रहेको इलाममा अति संवेदनशील २९ वटा रहेको छ ।

इलाममा ५९ संवेदनशील र सामान्य ६३ वटा रहेको प्रहरीले जनाएको छ। १७६ मतदान केन्द्र र १०१ मतदान स्थल रहेको पाँचथरमा २७ अति संवेदनशील, ६४ संवेदनशील र १० वटा सामान्य रहेका छन् ।

९५ मतदान केन्द्र र ५७ मतदान स्थल रहेको तेह्रथुममा अति संवेदनशील नभएको जिल्ला सुरक्षा समितिले प्रदेश प्रहरी कार्यालयलाई सिफारिस गरेको छ । तेह्रथुममा १८ मतदान स्थल संवेदनशील र ३९ सामान्य रहेका छन् ।

१६० मतदान केन्द्र र ८७ मतदान स्थल रहेको भोजपुरमा १८ अति संवेदनशील, २३ संवेदनशील र २४ सामान्य रहेका छन् । त्यस्तै १९४ मतदान केन्द्र र १३६ मतदान स्थल रहेको खोटाङमा ३५ अति संवेदनशील, ५८ संवेदनशील र सामान्य ४३ वटा छन् ।

१५० मतदान केन्द्र र ७९ मतदान स्थल रहेको ओखलढुंगामा अति संवेदनशील नभएको, संवेदनशील ६ र सामान्य ७३ वटा छन् । ३६ मतदान केन्द्र र २३ मतदान स्थल भएको ताप्लेजुङमा अति संवेदनशील २३, संवेदनशील २८ र ७९ सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१६३ मतदान केन्द्र र १०३ मतदान स्थल रहेको संखुवासभामा ७ अति संवेदनशील, ७९ संवेदनशील र १७ वटा मतदान स्थल सामान्य रहेका छन् । १३४ मतदान केन्द्र र १२२ मतदान स्थल रहेको सोलुखुम्बुमा ११ अति संवेदनशील, ११ संवेदनशील र ३३ वटा सामान्य रहेका छन् ।

निर्वाचनमा म्यादीसहित ३० हजार बढी सुरक्षाकर्मी खट्ने

प्रदेश १ मा स्थानीय तह निर्वाचनअन्तर्गत एउटा मतदान स्थलमा म्यादी प्रहरीसहित १४ जनाभन्दा बढी नेपाल प्रहरी खटाइने भएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रहरीबाहेक १७ हजार ७०० म्यादी प्रहरी परिचालन गरिने छ । जनपथ र म्यादी प्रहरीबाहेक निर्वाचनमा सशस्त्र प्रहरी पनि छुट्टै परिचालन हुनेछन् ।

स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रतिमतदान केन्द्र थप एक प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी राईले जानकारी दिए ।

सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी तथा संवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।

यसबाहेक मोबाइल, प्रोटेल, रिजर्भ टीम, क्यूआरटी पनि प्रहरीले परिचालन गर्नेछन् । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर सङ्कलन तथा निगरानी गर्नेछ । मतगणना स्थल सुरक्षा र इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।

स्थानीय तह निर्वाचनमा प्रदेश १ का एक लाख १२ हजार नयाँसहित कुल ३३ लाख ४७ हजार ३८४ मतदाताले मतदान गर्नेछन् । यहाँ एक महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका तथा एक हजार ५७ वटा वडा रहेका छन् । प्रदेश १ बाट विभिन्न राजनैतिक दलको प्रतिनिधित्व गर्दै ७ हजार ८५९ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर