चलचित्र ‘प्रेमगन्ज’को टिजरमा कपीराइट फ्री, धेरै दर्शक ल्याउनेलाई पुरस्कार – Nepal Press

चलचित्र ‘प्रेमगन्ज’को टिजरमा कपीराइट फ्री, धेरै दर्शक ल्याउनेलाई पुरस्कार

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ले बढीभन्दा बढी दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्री गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युव, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् ।

निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन् । तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

सेनले भने, ‘फिल्मले भ्युज ,कमेन्ट र सेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युव च्यानल , फेसबुक र टिकटकरलाई फिल्मको प्रिमियर सोमा रेडकार्पेटसहित आकर्षक पुरुस्कार प्रदान गरिनेछ ।’

निर्माता अनन्तमान श्रेष्ठका अनुसार यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ । चलचित्रको टिजर यही तीन गते तीन बजे सार्वजनिक हुँदै छ । श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युव च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।

परिच्छेद सेनकै लेखन रहेको यो चलचित्रबाट बैंकर पृष्ठभूमिका तेज गिरीले डेब्यू गर्दैछन् । फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

यस्तै, फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *