उम्मेदवारका आकांक्षीहरुसँग काठमाडौं एमालेले गर्‍याे छलफल, भद्रगोल सिफारिस फिर्ता – Nepal Press

उम्मेदवारका आकांक्षीहरुसँग काठमाडौं एमालेले गर्‍याे छलफल, भद्रगोल सिफारिस फिर्ता

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले महानगरपालिकासहित काठमाडौंका कुनै पनि नगरपालिकाबाट मेयर तथा उपमेयरका उम्मेदवार सिफारिस नभएको जनाएको छ ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले तोकेको मापदण्डअनुसार एक महिलासहित ३ जनाको मात्र नाम सिफारिस हुनुपर्छ । तर सबै नगरपालिका कमिटीबाट ३ जनाभन्दा बढीको दावी परेकाले ती नामहरु फिर्ता पठाएर सहमतिमा वा प्रक्रियाबाट ३ जनाको मात्र नाम सिफारिस गर्न भनिएको निरौलाले बताए ।

स्थानीय कमिटीले तीनजनाको नाम पठाएपछि मात्र जिल्लाले त्यसमा छलफल गरेर सकेसम्म आकांक्षीहरुबीचमा सहमति जुटाएर एकजनाको मात्र नाम प्रदेशमा पठाइने अध्यक्ष निरौलाले बताए ।

उनले भने, ‘अहिले जुन नामहरु सिफारिस भए भनिएको छ, त्यो आकांक्षीहरुको नाममात्र हो । जिल्लाले एक महिलासहित ३ जनाको मात्र नाम पठाउनुपर्छ भनेका छौं । दावी गर्ने सबैको नाम पठाउने होइन ।’

यसैबीच एमाले काठमाडौंले उम्मेदवारका आकांक्षीहरुलाई एकै ठाउँमा राखेर छलफल गरेको छ । विशेषगरी उम्मेदवार उठ्नेहरुको पेश्की फर्छ्योट भए नभएको, कानुनी तथा अन्य विषयबारे छलफल भएको निरौलाले बताए ।

छलफलमा स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य नारायण सिलवाल, सरिता न्यौपाने, विद्यासुन्दर शाक्यलगायत थिए । काठमाडौं महानगरपालिकाको मेयरमा हालका मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापितसहित सांसद रामवीर मानन्धर, महानगर अध्यक्ष सुन्दर पुर्कुटी र इन्दिरा पन्तको नाम सिफारिस भएको भनिएकोमा तीनजनाको मात्र पठाउन जिल्लाले महानगरलाई निर्देशन दिएको छ ।

महानगरपालिकाको टिकट भने केन्द्रले तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर