राष्ट्रपतिबाट पदक थापेपछि दिपाश्री भन्छिन् : राज्यले सम्झियो, गौरवान्वित छु – Nepal Press

राष्ट्रपतिबाट पदक थापेपछि दिपाश्री भन्छिन् : राज्यले सम्झियो, गौरवान्वित छु

काठमाडौं । नयाँ वर्षको पहिलो दिन अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाका लागि विशेष अविस्मरणीय बनेको छ । उनले एकसाथ खुशी हुने धेरै कारणहरु पाइन् ।

पहिलो त अरु जस्तै नयाँ वर्षको उमंगमा थिइन् उनी पनि । त्यसबाहेक उनका सहकर्मी तथा सबैभन्दा निकटका मित्र दिपकराज गिरीको जन्मदिन । त्यतिले नपुगेर दिपाश्रीले आजकै दिन राज्यबाट सम्मानित हुने अवसर पाइन् ।

लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय दिपाश्री आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएकी हुन् । उनलाई प्रबल जनसेवाश्री चौंथो पदक दिइएको छ ।

आफ्नो लागि यो सम्मानले निकै ठूलो महत्व राख्ने बताउँछिन् दिपाश्री । यो सम्मानले आफूलाई नयाँ उर्जा मिलेको र आगामी दिनमा राष्ट्रलाई थप योगदान दिनका निम्ति प्रेरणा प्राप्त भएको उनले बताइन् ।

दिपाश्रीले फिल्म क्षेत्रमा थुप्रै अवार्ड र पुरस्कार पाइसकेकी छन् । तर, राष्ट्रका तर्फबाट पाएको सम्मान चाहिँ यो पहिलो हो । त्यसैले गौरवान्वित बनेकी छिन् उनी ।

उनले भनिन्, ‘तीन करोड नेपाली जनताबाट छानिनु चानचुने कुरा होइन । चलचित्र क्षेत्रको अवार्डको आफ्नो महत्व छ, तर राज्यले दिने सम्मानको अर्कै अर्थ हुन्छ । यसले आफ्नो मान–प्रतिष्ठा बढेको महसुस भयो । काम गर्दै जाँदा योगदानको कदर हुँदोरहेछ भन्ने विश्वास जागेको छ ।’

कतिपय कलाकारले भन्ने गर्छन्– मलाई दर्शकको माया नै सबैभन्दा ठूलो पुरस्कार हो । दिपाश्री चाहिँ यो भनाइमा कति विश्वास गर्छिन् ?

‘दर्शककै मायाको कारण यहाँसम्म आइपुगेको हुँ । यसरी सम्मान पाउनुमा पनि दर्शकको मायाकै सबैभन्दा ठूलो हात छ । दर्शकले घच्घच्याएर नै राज्यले कलाकारलाई सम्मान दिने हो । त्यसैले दर्शकको माया र राज्यको सम्मानलाई अलग राखेर हेर्न मिल्दैन,’ उनले भनिन् ।

दिपाश्रीलाई अहिले बधार्इका फोन र सन्देशहरुको जवाफ दिन भ्याइनभ्याइ छ । उनको घरमा आजै सत्यनारायणको पुजा पनि थियो । शीतलनिवासबाट सम्मान थापेर फर्केपछि उनी आरतीमा सहभागी भइन् । त्यसपछि दिपकराजको जन्मदिनको कार्यक्रममा पुगिन् । दिपकराजलाई उनले ‘सरस्वतीपुत्र’ भन्दै कलम उपहार दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *