देउवाका विश्वासपात्र नै भन्छन्- मधेसमा फोर्सफुल गठबन्धन हुँदैन, फ्रेण्ड्ली कम्पिटिसन हुन्छ – Nepal Press
स्थानीय चुनाव

देउवाका विश्वासपात्र नै भन्छन्- मधेसमा फोर्सफुल गठबन्धन हुँदैन, फ्रेण्ड्ली कम्पिटिसन हुन्छ

सभापतिलाई कसैले मिसलिड गरिरहेको छ

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामि संसदीय निर्वाचनसम्म नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँगको तालमेल निरन्तर होस् भन्ने चाहन्छन् ।

यहीकारण कांग्रेसको तल्लो तहसम्म असन्तुष्टि हुँदासमेत देउवाले केन्द्रीय समितिबाट ‘स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्ने’ निर्णय गराएका छन् । केन्द्रीय समितिमा भारी बहुमत भएपनि चुनावी तालमेलको निर्णयले व्यवहारमा लागू गराउन सभापति देउवालाई सकस परिरहेको छ । किनकी पार्टीभित्र संस्थापनइतर समूहमात्रै होइन संस्थापन समूहकै नेताहरू पनि तालमेलको प्रस्तावित मोडालिटीप्रति असन्तुष्ट छन् ।

कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल सभपाति देउवाका विश्वासपात्र मानिन्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन रिजालले मधेस प्रदेशको कमाण्ड सम्हालेका थिए । यतिबेला उनै रिजाल चुनावी तालमेलको निर्णयप्रति सन्तुष्ट छैनन् ।

खासगरी मधेस प्रदेशमा प्रस्तावित ढाँचाअनुसारको चुनावी तालमेल हुनै नसक्ने रिजालको दाबी छ । मधेसमा कांग्रेसमात्रै नभएर जसपापनि तालमेलको पक्षमा उभिन कठीन देखिएको रिजाल बताउँछन् ।

मधेस प्रदेशमा १ महानगरपालिका, ३ उपमहनगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी जम्मा १ सय ३६ वटा स्थानीय तह रहेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले ४०, एमालेले १८, माओवादीले २१, संघीय समाजवादी (हाल जसपा) ले २६, राष्ट्रिय जनता पार्टी (हाल लोसपा) ले २५ स्थानीय तहको प्रमुख जितेका थिए । नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहको प्रमुख जितेका थिए ।

अघिल्लो निर्वाचनको नतिजा अनुसार मधेसमा कांग्रेस पहिलो र एमाले पाँचौ स्थानमा रहेका थिए । एमालेसँग मुख्य प्रतिस्पर्धा नभएकै कारण मधेसका कांग्रेस नेताहरू गठबन्धनको विपक्षमा उभिएका हुन् ।

‘एमाले बलियो भएको भए गठबन्धनको कुरा हुन्थ्यो तर मुख्य प्रतिस्पर्धा नै गठबन्धनका दलहरुबीच भएकोले गठबन्धन गर्न गार्हो छ’, केन्द्रीय सदस्य रिजालले नेपाल प्रेससँग भने । उनका पार्टीहरुको ताजा आँकलनमा कांग्रेस पहिलो र जसपा दोस्रो स्थानमा रहेको छ । वीरगञ्ज महानगरमा कांग्रेसले नेतृत्व छाड्न नहुने तल्लो तहबाट आइरहेको छ । त्यसैले गठबन्धनका शीर्ष नेताहरुले गरेको निर्णय मधेसमा हुबहु लागू नहुने रिजालको भनाइ छ । शीर्ष तहमा वीरगञ्जको मेयर जसपालाई छाड्नेगरी सहमति हुन लागेको चर्चा भइरहँदा पर्साका कांग्रेस नेताहरुले केन्द्रबाट थोपर्ने निर्णय नमान्ने निर्णय गरिसकेका छन् ।

‘पर्साका सबैजसो साथीहरू चुनावी तालमेलको विपक्षमा हुनुहुन्छ । कांग्रेसको मात्रै होइन जसपाका नेताहरुपनि तालमेलको पक्षमा हुनुहुन्न । तालमेल हुनेबित्तिकै कांग्रेसले पाउने ठाउँमा जसपाका नेताहरु एमाले प्रवेश गरेर चुनाव लड्ने सम्भावना छ । यस्तो गठबन्धन हुँदा उल्टै हामीलाई घाटा हुन्छ । त्यसैले मधेसमा एमाले हराउन गठबन्धन गर्नैपर्दैन, हामी हामी फ्रेण्ड्ली चुनाव लडे पुग्छ’, रिजालले भने ।

पार्टीले निर्णय गरिहाले कार्यान्वयनका लागि बाध्य हुने भएपनि मधेसमा गठबन्धन नहुने सम्भावना ९० प्रतिशतभन्दा बढी रहेको रिजालको दावी छ । कांग्रेसको निर्णय नै स्थानीय आवश्यकताको आधारमा तालमेल गर्ने रहेको भन्दै रिजाल पार्टी निर्णयअनुसार नै जानुपर्ने बताउँछन् ।

‘यदि मधेसमा तालमेल आवश्यक छैन भने किन गर्ने ?’, उनको प्रश्न छ । सभापति देउवालाई पार्टीको अवस्थाबारे सही ब्रिफिङ नभएको रिजालको दावी छ । आफूले छिट्टै देउवासँग भेटेर यथार्थ जानकारी गराउने उनले बताए ।

‘मलाई लाग्छ मधेसको मात्रै नभएर देशैभरीको एक्ज्याट ग्राउण्ड उहाँलाई थाहा छैन । कसैले मिसइन्फर्म वा मिस लिड गरेको हुनसक्छ । मधेसमा गठबन्धन गर्नु सबैका लागि हानिकार छ । म केहीदिनमै भेटेर कुरा राख्छु’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर