अनमोलको अभिनयमा प्रश्न उठाउनेले ‘ए मेरो हजुर ४’ हेर्नुपर्छ : सलोन बस्नेत – Nepal Press

अनमोलको अभिनयमा प्रश्न उठाउनेले ‘ए मेरो हजुर ४’ हेर्नुपर्छ : सलोन बस्नेत

‘पोष्टर ट्रेलरमा नअटाउँदा गुनासो छैन’

काठमाडौं । आज रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ४’ को हिजो आयोजित प्रिमियर शोमा चलचित्रका एक प्रमुख कलाकार सलोन बस्नेत अनुपस्थित भए । चलचित्रको प्रमोसनमा पनि कतै नदेखिएका सलोन प्रिमियरमा पनि अनुपस्थित रहनु अर्थपूर्ण मानिएको छ ।

हालै एक कार्यक्रममा सलोनका बुवा तथा निर्देशक सोभित बस्नेतले चलचित्रको प्रचार सामग्री तथा ट्रेलरमा सलोन नअटाएको गुनासो गरेका थिए । के यसलाई लिएर सलोन स्वयम् पनि निर्माण पक्षसँग असन्तुष्ट छन् ? हामीले सलोनलाई नै सोध्यौं ।

उनीसँग ए मेरो हजुर ४ र करिअरका अन्य विविध पक्षमा गरिएको संवाद

अहिले ‘ए मेरो हजुर ४’ को पोस्टर र कुनै पनि गीतमा तपाईंको नाम देखिएन, किन होला ?

ट्रेलरमा नाम छँदै छ । यो मेरो जिन्दगीको, मेरो करिअरको एउटा माइलस्टोन चलचित्र हो । जे भए पनि ‘ए मेरो हजुर’ मेरो मनको नजिक छ, त्यही हो ।

प्रचार सामग्री, ट्रेलरमा आफू नअटाएकोमा केही गुनासो छैन ?

हैन ठीकै छ । झुक्किनुभयो होला । अरु केही भयो होला । झरनाजी, सुनिलजीसँग भेट भएपछि कुरा होला नि ।

आफू बोल्न नसकेर बुवालाई बोल्न लगाउनुभएको हो भन्ने चर्चा छ नि ?

मलाइ यसको बारेमा थाहा भएन । ड्याडीलाई नि सायद मनमा लाग्यो होला । नोटिस गर्नुभयो होला । त्यही भएर भन्नुभयो कि?

तपाईंले निर्माण पक्षसँग यो विषयमा कुनै गुनासो राख्नुभएको छैन?

उहाँहरुसँग हल्का कुरा चैं भएको थियो, तर गुनासो त्यस्तो केही छैन ।

यो फिल्मको प्रमोसनमा तपाईंलाई सहभागी नगराइएको हो कि तपाईं आफैंले बहिष्कार गर्नुभएको हो ?

त्यस्तो केही हैन । मलाई बोलाउनुभएको थियो, तर मेरो व्यस्तताको कारणले म उपस्थित हुन सकिनँ ।

ए मेरो हजुरमा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ?

ए मेरो हजुर १,२,३ मा जस्तो भूमिका निभाएको छु, ४ मा नि त्यस्तै खालको भूमिका छ ।

आफ्नो भूमिकामा आफू सन्तुष्ट हुनुहुन्छ त ?

एकदमै सन्तुष्ट छु । झन् यो ‘ए मेरो हजुर ४’ को रोल त मलाई पर्सनलि नै धेरै मनपरेको छ ।

यतिबेला दक्षिण भारतीय चलचित्र केजीएफसँग तुलना गरेर ‘ए मेरो हजुरलाई’ सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ, यसलाई कसरी लिनुहुन्छ ?

यो गसिप यताउताभन्दा पनि मुख्य कुरा भनेको वैशाख १ गतेदेखि नेपाली चलचित्र लाग्दैछ । सबैलाई थाहा पनि छ । अहिलेसम्म जसरी साथ दिनुभएको छ, त्यसरी नै साथ दिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

अनमोल र तपाईंले एउटै फिल्मबाट डेब्यू गर्नुभयो । अनमोल मेगास्टार भनेर चिनिँरहँदा आफू पछि परेको महुसस हुँदैन ?

हुँदैन । मलाई अनमोलदेखि त गर्व लाग्छ । हाम्रो नेपाली चलचित्र क्षेत्रलाई अगाडी बढाउन सक्ने नायकको रुपमा लिन्छु म उसलाई ।

अनमोल र तपाईको आपसी सम्बन्ध कस्तो छ?

हामी एकदमै मिल्ने साथी हौँ । बाहिर समाचारमा के आउँछ त्यो मलाई थाहा भएन । तर तिनपुस्ते दोस्ती छ हाम्रो । हजुरबुवा, बुवादेखि हामीसम्म ।

अनमोलसँग फिल्म खेल्दा कत्तिको इन्जोइ गर्नुहुन्छ?

मज्जा आउँछ उसँग काम गर्न । कति कुराहरु भन्दै नभनि पनि बुझिन्छ । सहज महसुस गर्छौ एक अर्कासँग । अब ‘हनिबनि’ मा पनि एकसाथ काम गर्दैछौं ।

अनमोलको अभिनयलाई लिएर धेरै नै आलोचनाहरु हुने गर्छन्, तपाईंलाई चैं यो सुनिरहँदा कस्तो लाग्छ ?

त्यो आलोचना गर्ने मान्छेहरुलाई ‘ए मेरो हजुर ४’ हेर्नुस् भन्न चाहन्छु ।

अनमोलको मनपर्ने एउटा बानी?

उ एकदमै इज्जत गर्छ सबैको ।

अनमोलको परिवर्तन गर्न मन लागेको एउटा बानी ?

एकदमै टोलाउँछ कहिलेकाहीँ ।

तपाईंको बुवाले सिर्जना गर्नुभएको महानायक काण्डले तपाईंको क्यारियरलाई कति असर पुर्‍यायो ?

छैन त्यस्तो केही । त्यो एक समयको हुरीबतास थियो । फेरि समर आइहाल्छ, घाम लागिहाल्छ, फूल फुलिहाल्छ ।

तपाईं प्राय हिरोको साथीको रुपमा देखिनुहुन्छ । लिड हिरोमा तपाईंलाई अफर नआएको हो त?

कस्तो हुँदो रहेछ भने दर्शकले आफूलाई जेमा रुचाउनुहुन्छ त्यस्मै ढल्नुपर्दो रहेछ । ‘होस्टेल’ चलचित्रदेखि यहाँसम्म आइपुग्दा मलाई कहिले लागेन कि म बर्बाद भएँ, लिडमा भइनँ भनेर ।

कहिलेसम्म हिरोको साथी मात्रै भएर खेल्ने त ?

दर्शक भगवान हुन् । जेमा रुचाउनहुन्छ म त्यसमै खुसी छु । मेरो पकेट लिस्टमा भएको कतिवटा सिनेमा मैले भन्न मिल्दैन । आगामी दिनमा देखिँदै जान्छ ।

आफू सबैभन्दा कस्तो भूमिकामा फिट हुन्छु जस्तो लाग्छ ?

मलाई सांगीतिक सिनेमामा फिट हुन्छु जस्तो लाग्छ ।

तपाईंलाई गर्न मन लागेको तर गर्न नपाएको कुनै भूमिका छ ?

मलाई रकस्टारको भूमिका निर्वाह गर्न मन छ, तर खै अहिलेसम्म बनेको छैन कि आएको छैन ।

‘ह्सवदीर्घ’मा नि अनुबन्धित हुनुभएको छ । के कुराले यो चलचित्रमा आकर्षित हुनुभयो?

अहिलेसम्मको नेपाली चलचित्रमा भएभन्दा फरक कुरा छ यसमा । यसको कथा नै भिन्न छ । टिम सबै फाइनल हुनेबित्तिकै जानकारी गराउनेछौं ।

प्रस्तुतिः तपस्या राणा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *