जी-बबले गाएको ‘ए मेरो हजुर ४’ को गीत एक नम्बर ट्रेन्डिङमा, फिल्मको व्यापारलाई पनि ‘बुस्ट’ गर्ला ? – Nepal Press

जी-बबले गाएको ‘ए मेरो हजुर ४’ को गीत एक नम्बर ट्रेन्डिङमा, फिल्मको व्यापारलाई पनि ‘बुस्ट’ गर्ला ?

काठमाडौं । प्रदर्शनउन्मुख चलचित्र ‘ए मेरो हजुर ४’ का लागि जी-बबले गाएको र्‍याप गीतले छोटो समयमा युट्यूवको नेपाल ट्रेन्डिङको शीर्षस्थान कब्जा गरेको छ । हिजो रिलिज भएको गीत केही घण्टामै एक नम्बर ट्रेन्डिङमा उक्लेको हो ।

अनमोल केसी-सुहाना थापा स्टारर रोमान्टिक मुभी नयाँ वर्षमा रिलिज गरिँदैछ । फिल्म प्रदर्शनको छेकोमा जी-बबको स्वरमा प्रमोसनल गीत रेकर्ड गरिएको थियो । उक्त गीतको एउटा अंश हिजो बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको १७ घण्टामा गीतले झण्डै आठ लाख भ्यूज बटुलिसकेको छ ।

र्‍याप ब्याटलका क्रममा गाएको ‘मिलेन लेभल तेरो बाउ बोला ए…’ बाट जी-बब भाइरल भएका थिए । उनले ‘ए मेरो हजुर ४’ का लागि गीत रेकर्ड गरेको खबरसँग फ्यानहरू यसको व्यग्र पर्खाइमा थिए । फिल्मको गीत भए पनि जी-बबले आफ्नै स्टाइमा गाएको हुँदा फ्यानहरूको तिर्खा मेटिएको छ । गीतको भिडिओमा पनि जी-बब देखिएका छन् ।

गीतमा आएका रियाक्सनहरू पनि निकै उत्साहजनक छन् । अहिलेसम्म गीतले करिब १ लाख १० हजार लाइक्स र ५ हजारभन्दा बढी प्रतिक्रिया पाइसकेको छ । प्रतिक्रियाहरू अधिकांश सकारात्मक छन् र जी-बबको प्रशंसामा केन्द्रित छन् ।

प्रदर्शनको ठीकअघि आएको गीत ‘ए मेरो हजुर ४’ का लागि निकै ठूलो प्लस प्वाइन्ट बनेको छ । युवापुस्तालाई हलसम्म तान्नका लागि यो गीतले थप मद्दत गर्ने विश्वास निर्माण पक्षले लिएको छ । हिट सिक्वेल र अनमोल केसीको उपस्थितिले गर्दा फिल्म पहिल्यैबाट प्रतिक्षित थियो । जी-बबको पनि इन्ट्री भएपछि दर्शकहरुको कौतुहल थप बढेको छ ।

‘ए मेरो हजुर ४’ सँगै एउटा दक्षिण भारतीय चलचित्र पनि नेपालका हलहरुमा रिलिज हुँदैछ । महँगोमा खरिद गरिएको उक्त चलचित्रका कारण ‘ए मेरो हजुर ४’ ले पर्याप्त शो नपाउने खतरा भने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *