राष्ट्रिय महिला बिच भलिबल फाइनलः पुलिस र लुम्बिनी भिड्दै – Nepal Press

राष्ट्रिय महिला बिच भलिबल फाइनलः पुलिस र लुम्बिनी भिड्दै

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा जारी प्रतियोगितामा पुलिस पूर्व राष्ट्रिय महिला भलिबल टिमकी सदस्य कमला पुनको कप्तानीमा मैदान उत्रिदैछ । उनको जोडी छिन् हाल राष्ट्रिय टिमकी महत्वपूर्ण सदस्य मनिसा चौधरी ।
उनीहरु लिग चरणमा हराएको लुम्बिनीलाई पुनः एकपटक हराउँदै उपाधिमा जित्न चाहन्छ ।

प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई २१–९, २१–११ को सोझो सेटमा हराएको थियो । यस्तै, क्वार्टर फाइनलमा प्रदेश एकलाई २१–१, २१–६ र सेमिफाइनलमा गण्डकीलाई २१–१९, २१–९ को सोझो सेटमा पराजित गरेको थियो ।

यता, समूह चरणमा हारको बदला लिन चाहेको लुम्बिनीमा भावना डाँगी र सरस्वती कटेल छन् । घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएकी भावनाको कप्तानीमा रहेको लुम्बिनीमा उनले राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणमा परेकी सरस्वतीको साथ पाएकी छिन् ।

सरस्वती बंगलादेशमा तीन वर्षअघि भएको एभिसी सेन्ट्रल जोनमा र १३औं दक्षिण एसियाली खेलकुद ९साग० को बन्द प्रहिक्षणमा परेकी थिइन् । तर, उनी पहिलो चरणको छनोटबाटै बाहिरिएकी थिइन् ।

लुम्बिनीले क्वार्टर फाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता थगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । एपिएफ घरेलु प्रतियोगिताको सर्वाधिक सफल टोली मानिन्छ ।

यस्तै, लुम्बिनीले सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सेटमा हराउँलै फाइनल नजिक पुगेको हो । प्रतियोगिताको फाइनलमा खेल दिउँसो ११ बजे हुनेछ ।
तेस्रो स्थानको लागि पवित्रा विसी र रेविना घर्ती मगरको जोडी गण्डकी प्रदेश र भागरथी जोशी र बविता बोहराको जोडी सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानका् खेल बिहान १० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैंया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *