दुर्गेशको प्रतिक्रिया : मेरो सिन काटेर फिल्म चल्छ भने चलोस्, सुनिल थापा भन्छन्- काट्ने निर्णय भएको छैन – Nepal Press

दुर्गेशको प्रतिक्रिया : मेरो सिन काटेर फिल्म चल्छ भने चलोस्, सुनिल थापा भन्छन्- काट्ने निर्णय भएको छैन

काठमाडौं । ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापाले उक्त चलचित्रबाट गायक दुर्गेश थापाको सिन काट्ने निर्णय नभएको बताएका छन् ।

पल शाह प्रकरणका कारण दुर्गेशको सिन काटिएको भनेर आएका समाचार उनले खण्डन गरे ।

नेपाल प्रेससँग कुरा गर्दै थापाले भने, ‘खोइ कसरी समाचार लेखिएका हुन् थाहा भएन । सिन काट्ने निर्णय भएको छैन ।’

उक्त चलचित्रमा दुर्गेशको गीत हटाएर जी बबको थपिएको चर्चा पनि असत्य भएको उनले बताए । थापाका अनुसार फिल्ममा दुर्गेशको करिब डेढ मिनेटको केमियो भूमिका मात्रै थियो ।

‘दुर्गेशले ए मेरो हजुर ४ मा कुनै गीत गाएका थिएनन् । खाली एउटा छोटो सिनमा अभिनय गरेका थिए, जसमा उनी गायककै रूपमा देखिएका छन् । अब चलचित्रको प्रिमियममा कस्तो प्रतिक्रिया आउँछ, सिचुयसन कस्तो हुन्छ भन्ने हेरेर मात्रै उनको सिन राख्ने नराख्ने निर्णयमा पुग्छौँ,’ उनले भने ।

दुर्गेश भन्छन् : मेरो फिल्म काटेर फिल्म चल्छ भने चलोस्

यता गायक दुर्गेश भने फिल्ममा आफ्नो सिन काटिएको/नकाटिएको बारे अन्योलमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बताए ।

‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति हुँदैन । आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काटेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु,’ दुर्गेशले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *