महिला बिच भलिबल: सेमिफाइनल समीकरण पूरा, एपीएफ बाहिरियो – Nepal Press

महिला बिच भलिबल: सेमिफाइनल समीकरण पूरा, एपीएफ बाहिरियो

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा विभागीय एपीएफ क्लब बाहिरिएको छ । एपीएफलाई लुम्बिनी प्रदेशले सहज पराजित गर्यो ।

कालीगण्डकीको किनारमा जारी भलिबलको क्वार्टरफाइनलको पहिलो खेलमा समूह ‘ए’को विजेता एपिएफलाई समूह ‘सी’को उपविजेता लुम्बिनीले १७–२१, १३–२१ को नतिजामा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै, क्वार्टरफाइनलको दोस्रो खेलमा समूह ‘बी’को विजेता सुदूरपश्चिमले समूह ‘डी’ उपविजेता बागमती प्रदेशलाई २१–८, २१–७ को सोझो सेटमा हरायो । सुदूरपश्चिम भागरथी जोशी र बागमती मोनिका महतोको कप्तानीमा मैदान उत्रिएका थिए ।

तेस्रो खेलमा कमला पुन, मनिषा चौधरीको जोडी समूह ‘सी’ को विजेता पुलिसले जोडी अञ्जना लिम्बु र प्राची गौतमको समूह ‘ए’ को उपविजेता प्रदेश एकमाथि २१–१, २१–६ को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

बिहीबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिमक्वार्टर फाइनल निकै रोमाञ्चक बनेको थियो । तीन सेटमा पुयेको खेलमा समूह ‘डी’ को विजेता गण्डकीले समूह ‘बी’ को उपविजेता कर्णालीलाई २१–१२, २१–२३, १५–८ को नतिजामा हराउँदै सेमिफाइनल समीकरण पूरा गरेको छ ।

शुक्रबारै हुने सेमिफाइनलका पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिमबीच खेल केही समयमा सुरु हुनेछ । सेमिफाइनलको दोस्रो खेलमा पुलिस र गण्डकीले प्रतिस्पर्धा गर्नेछन् ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सुरु भएको तीन दिने प्रतियोगितामा ९ टिम सहभागी थिए । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेलहरु शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर