‘ह्यान्डसम’ पारिश्रमिक लिएर जी–बबले गाए ‘ए मेरो हजुर’को गीत, यसरी भयो ६ घन्टाको सुटिङ – Nepal Press

‘ह्यान्डसम’ पारिश्रमिक लिएर जी–बबले गाए ‘ए मेरो हजुर’को गीत, यसरी भयो ६ घन्टाको सुटिङ

काठमाडौं । एएनटीएफ र्‍याप ब्याटलका क्रममा गाएको ‘मिलेन लेवल तेरो बाउ बोला ए..’ बाट एक र्‍यापर युवाहरुमाझ रातारात फेमस बने । वास्तविक नाम सुदिप भण्डारी, तर कहलिएको नाम जी–बब । उनको र्‍याप युवाहरुको ओठ–ओठमा झुण्डिएको छ, तर जी–बब कसैको सम्पर्कमा छैनन् ।

मिडियाकर्मीदेखि युट्यूवरदेखि उनलाई खोज्दा–खोज्दा हत्तु भइसके । लागूऔषधको दुव्र्यसनमा फसेका जी–बब एएनटिएफको फाइनल नै हापेर ‘फरार’ भएका थिए । हाल उनी एउटा रिह्याब सेन्टरमा बसेर आफूलाई करेक्सन गरिरहेका छन् । पछिल्लोपटक उनी अष्ट्रेलियामा कन्सर्टका लागि जान लागेको समाचार आएको छ ।

यसैबीच फ्यानहरुका निम्ति खुशीको खबर के छ भने जी–बबले एउटा नेपाली चलचित्रका लागि गीत रेकर्ड गराएका छन् । आगामी १ वैशाखमा रिलिज हुन लागेको ‘ए मेरो हजुर ४’ को प्रमोसनल गीत जी–बबको स्वरमा रेकर्ड गरिएको हो ।

फिल्मको गीत भए पनि यसलाई जीबलले आफ्नै शैलीमा गाएका छन् । गीतको लिरिक्स पनि उनी आफैंले लेखेका हुन् ।
चलचित्र निर्माता सुनीलकुमार थापाका अनुसार जी–बबले करिब २ घन्टामा लिरिक्स तयार पारेका थिए । उनको सिर्जनशीलता र गायिकीबाट आफू अचम्भित बनेको थापा बताउँछन् ।

‘वास्तवमै गज्जब प्रतिभा रहेछन्,’ थापाले भने, ‘उनको बारेमा सुनेको थिएँ, भेटेपछि झन् प्रभावित बनेँ ।’
फिल्मका लागि एउटा फरक खालको प्रमोसनल गीत रेकर्ड गर्ने पहिल्यैबाट तयारी थियो । तर जी–बबलाई नै गाउन दिने योजना चाहिँ पछि बनेको हो । जी–बबको र्‍याप टिकटकमा भाइरल भएपछि निर्माण पक्षले उनको खोजी गरेको थियो । तर, उनलाई भेट्टाउन सजिलो थिएन ।

निर्माता थापाका अनुसार लामो प्रयासपछि जी–बबलाई भेटाउने सूत्र फेला पर्‍यो । अष्ट्रेलियाको भिसा लिन गएका बेला भेटेर आफूले प्रस्ताव राखेपछि भने उनी सहजै गीत रेकर्ड गराउन तयार भएको थापाले बताए । ‘हेर्दाखेरि एकदम सानो फुच्चे र क्यूट रहेछन्, मलाई त आफ्नै छोराजस्तो लाग्यो’ उनले भने, ‘भयंकर ट्यान्टेन्ट रहेछन्, दुई घन्टा बसेर गज्जबको लिरिक्स लेखे ।’

यसअघि थापाले अरुलाई नै गीतको लिरिक्स लेखाएका थिए । तर, जी–बब अरुको लिरिक्समा नगाउने भनेर आफैंले लेखेका हुन् । करिब तीन मिनेटको यो र्‍यापमा जी–बब आफैं देखिनेछन् । सुहाना इन्टरटेनमेन्टको कमलपोखरीस्थित स्टुडियोमा उनले करिब ६ घन्टामा गीतको रेकर्डिङ र सुटिङ सकेका थिए ।

गीतको भिजुअलमा जी–बब चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापासँग देखिनेछन् । यस गीतको डेढ मिनेटको एउटा पार्ट आज रिलिज गरिँदैछ । पूरा गीतका लागि भने चलचित्र नै हेर्नुपर्छ ।

जी–बबले कति पारिश्रमिक लिएर यो गीत गाए भन्ने थापाले खुलाउन चाहेनन् । उनका अनुसार जी–बब एएनटीएफ नामक कम्पनीसँग आवद्ध रहेकाले सोही कम्पनीसँग सम्झौता गरिएको छ । सम्झौतामै पारिश्रमिक बाहिर नखुलाउने शर्त रहेको थापाले बताए ।

‘राम्रो मात्र होइन, एकदम ह्यान्डसम पारिश्रमिक दिएर जी–बबलाई गाउन लगाएका हौं, तर अमाउन्ट भन्न मिल्दैन,’ उनले भने ।युवापुस्तामा जी–बबको क्रेज देखेर आफू अचम्ममा परेको समेत थापाको भनाइ छ । उनले सुनाए, ‘यस्तो क्रेज रहेछ कि मैले उनलाई ड्रेस किन्नका लागि बाहिर लिएर जाँदा एकैछिनमा ठूलो क्राउड भयो । मलाई त फ्यानहरुबाट बचाउनै गाह्रो भयो ।’

आफूले जी–बबलाई बाहिर चर्चा भएको भन्दा एकदमै फरक र सुधारिएको रुपमा पाएको पनि थापा बताउँछन् ।
‘हामीले टिकटकतिर देखेको भन्दा अर्कै भएका रहेछन् । ८० प्रतिशत सुध्रिसकेको पाएँ । उनको भविष्य एकदमै उज्ववल देखेको छु मैले,’ उनले भने ।

जीबब आफ्नो पहिलो वैदेशिक कन्सर्टका लागि चाँडै अष्ट्रेलिया जाँदैछन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा १३ अप्रिलमा सिड्नी र अप्रिल १९ मा व्रिसबेनमा उनको कन्सर्ट आयोजना हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *