त्रिदेशीय टी-२० शृंखला जितले कप्तान सन्दीपलाई राहत – Nepal Press

त्रिदेशीय टी-२० शृंखला जितले कप्तान सन्दीपलाई राहत

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सोमबार त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि नेपालले आफ्नो पोल्टामा पार्यो । यो जितससँगै कप्तान सन्दिप लामिछानेले सन्तोषको सास फेरेका छन् ।

ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दिपलाई क्रिकेट टीमको कप्तान नियुक्त गर्दा थुप्रै आलोचनाका स्वर सुनिएका थिए । सन्दिपलाई कप्तान बनाउने बेला नभएको धेरैको टिप्पणी थियो । सन्दिपको कप्तानीमा नेपालले टि–२० विश्वकपमा स्थान बनाउन चुक्यो भने घरेलु मैदानमै भएको पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय श्रृंखलामा क्लीन स्वीपको हार स्वीकार्यो । यसले सन्दिपको कप्तानीमाथि नै प्रश्न उठ्न थालेको थियो ।

यदि त्रिदेशीय टि–२० प्रतियोगितामा पनि खराब नतिजा निकालेको भए सबैभन्दा बढी आलोचना सन्दिपले नै सहनुपर्ने निश्चित थियो । तर, यो प्रतियोगितामा नेपालले विपक्षी दुई टीमलाई कुनै मौका दिएन । उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै नेपालले उपाधि जितेपश्चात सन्दिपलाई ठूलो राहत मिलेको छ । जितपछि उनको अनुहारमा बेग्लै चमक देखिन्थ्यो ।

टी–२० विश्वकपको विश्वस्तरको छनोटका लागि प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये आधाले सन्दिपको कप्तानी नस्वीकार्ने संकेत गरेका थिए । सन्दिपका लागि त्यो निकै चुनौतिपूर्ण घडी थियो । क्यानको निर्णय बदर हुनुपर्छ भन्दै ज्ञानेन्द्रलाई कप्तानमा फर्काउनुपर्ने आवाज पनि चर्कै सुनिन्थ्यो । तर नवनियुक्त प्रशिक्षक पुबुदु दासानायकेले जिम्मेवारी सम्हाल्न आएको केही दिनमै विवाद मिल्यो । सन्दीप कप्तानमा कायमै रहे र आन्दोलन गरिरहेका खेलाडी प्रशिक्षणमा फर्कन तयार भए ।

अचानक मिलेको यो विवादपछाडि अफवाहहरु पनि थुप्रै फैलिए । ‘विन–विन’ को स्थिति सृजना गर्न तत्काललाई सन्दीपलाई कप्तान कायम गरिएको तर केही समयमा ज्ञानेन्द्र जिम्मेवारीमा फर्कने हल्ला पनि नसुनिएको होइन ।

क्यानले सन्दीपलाई कप्तानको जिम्मेवारी दिँदा भन्ने गरेको थियो– सन्दीप युवा छन् र उनीसँग विश्वभरका व्यावसायिक क्रिकेट प्रतियोगिता खेलेको अनुभव पनि छ । दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाइए पनि उनको स्थानमा वा अर्को उपकप्तान कसैलाई बनाइएको थिएन ।

ओमानमा भएको टी–२० विश्वकप छनोटअघि नेपालले चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेको थियो । त्यसमा नेपालले विजयी सुरुवात गर्यो । सन्दीपले पनि जितबाट कप्तानी उडान थाले । विश्वकप छनोटको यात्रा पनि नेपालले जितबाटै सुरु गरेको थियो, तर विश्वकप पुग्न सकेन । नेपालको विश्वकप सपना टुटाउन यूएईविरुद्धको एउटै हार पर्याप्त बन्यो ।

त्यसपछि एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले पीएनजीविरुद्धका दुवै खेल जित्यो तर यूएईविरुद्धका दुवै खेलमा निराश बन्यो ।

फेरि नेपालले घरेलु मैदानमा पीएनजी र मलेसियालाई बोलाएर शृंखला खेल्यो । पीएनजीविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाल पराजित भयो । तर पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाका सबै पाँच खेल जितेर उपाधि विजेता बनेको छ ।

सन्दीपको कप्तानीमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । दुई अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी घरेलु मैदानमा आयोजित यी दुवै शृंखलामा टोलीमा थिएनन् । टोलीका सबै सदस्य सन् २०१४ यता सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । युवा टोलीलाई सन्दीपले नेतृत्व गरेर उपाधि यात्रासम्म पु¥याउनुलाई सुखद मान्न सकिन्छ । लयमा रहन सके अबको १०–१५ वर्ष यीनै अनुहार नेपाली टोलीमा रहने सक्नेछन् ।

सन्दीप आफै भन्छन्, ‘यो सुन्दर भविष्यको सुरुवात हो । हामी सबै युवा छौँ । तर राम्रो सम्भावना देखाएका छौँ ।’

ज्ञानेन्द्रलाई कप्तानबाट हटाइएपछि र पछिल्लोपटक टीमबाहिर राखिएपछि उठिरहेका विवादका विषयमा सन्दीप अनभिज्ञ छैनन् । यी घटनाक्रमले टीमभित्रको एकता कमजोर बन्दै गएकोबारे भएका ‘अफ द फिल्ड’ चर्चाहरु उनले पक्कै पनि सुनेकै छन् । त्यसैले त सोमबार उपाधि जितेपछि टिमभित्रको विवादबारे सोधिएको प्रश्नमा उनले जवाफ दिने उत्तम समय नभएको भनेर पन्छिए ।

‘यस्तो सेलिब्रेसनको मुडमा विवादबारे अहिले नबोलौँ होला’ भन्दै उनले टारिदिए ।

त्रिकोणात्मक शृंखलाका प्लेयर अफ दी फाइनल र प्लेयर अफ दी सिरिज दीपेन्द्र यसपटक मडिया फेस गर्न नै तयार देखिएनन् । विवादित विषयमा प्रश्न सोधिन सक्ने भयले उनले प्रेसमिट समेत छलेको अनुमान गरिएको छ ।

तत्कालीन उपकप्तान दीपेन्द्रलाई सञ्चार माध्यमसँग क्यानविरुद्ध बोलेको भनेर कारबाही गरिएको थियो । उनलाई हटाएर अर्को उपकप्तान नियुक्त गरिएको पनि छैन । यसपटक नेपालले उपाधि जित्नुमा दीपेन्द्र नै निर्णायक बने । उनी लगातार उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा आफ्नो महत्व दर्शाइरहेका छन् । सन्दीपको कप्तानी सफल हुनुमा दिपेन्द्रलाई मुख्य हिस्सेदार मान्न सकिन्छ ।

सन्दीप भन्छन्, ‘म कुनै पनि निर्णय लिनुभन्दा अघि सबैको कुराहरु सुन्छु । कप्तानका रुपमा उपाधि जित्नुको आनन्द पक्कै पनि बेग्लै हुन्छ । तर त्यसको श्रेय टोलीका हरेक सदस्यहरुलाई जान्छ ।’

सन्दीपको यात्रा लामो छ । उनले बुझेका छन्, विगतमा क्यानविरुद्ध आन्दोलनमा उत्रिएका कुशल भुर्तेल, सोमपाल कामी, करन केसी, रोहित पौडेलदेखि दीपेन्द्रसम्मले नै आफ्नो कप्तानी उडानको दिशा तय गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर