स्वास्थ्य बीमाका बिरामीको नि:शुल्क उपचार बन्द गर्ने मिसन अस्पतालको निर्णय – Nepal Press

स्वास्थ्य बीमाका बिरामीको नि:शुल्क उपचार बन्द गर्ने मिसन अस्पतालको निर्णय

रुपन्देही । पाल्पाको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा गराएका बिरामीको निःशुल्क उपचार नगर्ने भएको छ । सरकारबाट बीमाबापतको रकम प्राप्त नभएकोले त्यस्ता बिरामीको नि:शुल्क उपचार रोक्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

बीमाको १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम सोधभर्ना नगर्दा अस्पतालको नियमित काममा समेत बाधा पुगेको प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए । उनका अनुसार कर्मचारीलाई नियमित तलब खुवाउन, औषधि खरीद गर्न तथा अन्य प्रशासनिक कार्य गर्न नै नसकिने अवस्थामा पुगेको छ ।

‘६८ वर्षको मिसन अस्पतालको इतिहासमै सबैभन्दा अप्ठयारो अवस्थामा पुगेको छ । धान्नै नसक्ने अवस्था भएपछि यस्तो कदम चालेका हौं’, भट्टराईले भने ।

बीमा बोर्डले यसरी उपचार गरेबापत पाउनुपर्ने रकमको ठूलो हिस्सा सोधभर्ना नगरेको भन्दै अस्पतालले बीमा गरेकालाई सोमबारदेखि नि:शुल्क उपचार गर्न नसकिने भनेर सूचना निकालेको छ । मिसनले २०७४ सालदेखि स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

अस्पतालका निर्देशक डा. रचेल कारखले हालसम्मको बक्यौता रकमको भुक्तानी, खर्च अनुसारको मूल्य समायोजन, दाबी रकम भुक्तानी १५ दिनभित्र नभए स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने बताइन् । उनले भोलिदेखि बिरामीलाई नि:शुल्क उपचार गर्न नसकिने प्रष्टयाइन् ।

यो विषयमा जिल्लाका सरोकारवालाहरूसँग पटक-पटक छलफल गरेको, बीमा बोर्डलाई पटकपटक ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।

६८ वर्षअघि स्थापित मिसन अस्पताल पश्चिमनेपालकै पुरानो अस्पताल हो । यो अस्पतालमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, रुपन्देहीलगायत भारतबाट समेत सेवा लिन आउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *