नेपाल अपराजित रहदै फाइनलमा, उपाधिका लागि पिएनजीसँग खेल्ने – Nepal Press

नेपाल अपराजित रहदै फाइनलमा, उपाधिका लागि पिएनजीसँग खेल्ने

काठमाडौं । जार त्रिदेशीय टी–२० शृङ्खलामा मलेसिया नेपालसँग ८५ ले पराजित भएको छ ।

मलेसिया नेपालसँग पराजित भएसँगै पपुवा न्युगिनी (पीएनजी) ले फाइनलमा स्थान बनाएको छ । एक/एक खेल जितेको मलेसिया र पीएनजीको तालिकामा समान दुई अंक छ ।  नेट रन रेटका आधारमा अगाडि रहेकाले पीएननजीले फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल शतप्रतिशत जित निकाल्दै फाइनल पुगिसकेको छ । फाइनल खेल सोमबार हुनेछ ।

टस जितेर पहिले फिल्डिङ रोजेको मलेसियालाई नेपालले २ सय २४ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मलेसिया एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ३८ रनमा सीमित भयो ।

नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले समान एक विकेट लिए ।

मलेसियाको ब्याटिङमा ओपनर भिरन्दीप सिंहले सर्वाधिक ४७ रन जोडे । उनले २६ बल खेल्दै ९ चौका प्रहार गरे । अर्का ओपनर जुबैदी जुलकिफेले गोल्डेन डक भएका थिए । उनलाई कमल ऐरीले कुशल भुर्तेलमार्फत क्याच आउट गराएका थिए ।

कप्तान अमेद फैज ३१ बलमा तीन चौकासहित ३३ रन जोडेर आउट भए । सैद अजिजले १७ रन बनाए । एनलु हाफिज १८ रन बाहेक मलेसियाका कुनैपनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २३ रनको योगफल तयार पारेको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक १ सय १० रनको उत्कृष्ट शतकीय इनिङ खेलेर अविजित रहे । उनले ५७ बल खेल्दै १० चौका र ६ छक्का प्रहार गरे ।

दीपेन्द्र नेपालबाट टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाएका थिए ।

आसिफ शेख आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए ।

रोहित पौडेल ३४ बलमा ५१ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेर आउट भएका थिए । ओपनर कुशल भुर्तेल १२ रन, आसिफ शेख १८ रनमा आउट भए । आदिल अलामले ९ बलमा १४ रन जोडे । आरिफ शेख २ रनमात्रै बनाउन सफल भए ।

मलेसियाको बलिङमा मुहमद वाकिफ, पभनदिप सिंह, स्याजु्रल इडु्रस र मुहमद अमिरले समान एक विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर