सुर्खेतमा एक लाख बालबालिकालाई टाइफाइडको खोप लगाइँदै – Nepal Press

सुर्खेतमा एक लाख बालबालिकालाई टाइफाइडको खोप लगाइँदै

सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले १५ महिनाभन्दा माथि १५ वर्षभन्दा तलको उमेर समूहका एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतामका अनुसार जिल्लाका नौ वटै पालिकामा खोप अभियान सुरु गर्न लागिएको हो ।

‘चैत २५ गते दखि वैशाख तीन गतेसम्म खोप अभियान सुरु गर्ने भएका छौं । यो अभियान वैशाख १८ गतेसम्म जारी रहनेछ ।’ उनी भन्छन्, ‘चैत २५ गते वीरेन्द्रनगर, २६ गते भेरिगंगा नगरपालिका, २८ गते गुर्भाकोट नपा, २९ गते बराहताल गाउँपालिका, पञ्चपुरी नपा, चिंगाड गापा र लेकबेशी नपा, तथा वैशाख ३ गते चौकुने र सिम्ता गाउँपालिकामा खोप अभियान सुरु गर्दैछौं ।’

उनले हरेक विद्यालयमा गएर करिब तीन हजार स्वास्थ्यकर्मीले खोप लगाउने जानकारी दिए । खोप अभियान सञ्चालनका लागि ७९ लाख २८ हजार बजेट रहेको बताउँदै अहिलेसम्म सुर्खेतमा खोप लगाउने बालबालिकाको ९६ हजार ४६७ जनाको तथ्यांक कार्यालयमा आइसकेको र बाँकी आउने क्रममा रहेको उनको भनाई थियो ।

सुर्खेतमा आर्थिक वर्ष २०७६/०७७मा तीन हजार चार सय २६ जनामा टाइफाइड देखिएको थियो भने आर्थिकवर्ष २०७७/०७८ मा चार हजार पाँच सय २८ जनामा यो रोग देखिएको तथ्यांक कार्यालयसँग छ । यस्तै चालु आर्थिक वर्षको हालसम्म २ हजार ८ सय ३६ जनामा टाइफाईड पुष्टि भएको पाइएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

‘यी सरकारी अस्पतालमा टाइफाइड पुष्टि भएको तथ्यांक मात्रै हो । नीजि मेडिकलमा कतिले टाइफाईडको उपचार गराए भन्ने तथ्यांक हामीसँग छैन ।’ उनले भने, ‘टाइफाइडबाट सबैभन्दाबढि संक्रमण बालबालिकामा हुने भएका कारण १५ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउन सुरु गरिने भएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *