भेरी–बबईको भौतिक प्रगति ५३ प्रतिशत – Nepal Press

भेरी–बबईको भौतिक प्रगति ५३ प्रतिशत

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत भौतिक प्रगति भएको छ ।
बाह्रै महिना सिँचाई सुविधा पुर्‍ याउने र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको भौतिक प्रगति ५३ प्रतिशत भएको छ ।

हाल दोस्रो चरणमा बाँध तथा पावरहाउस निर्माणको काम भइरहेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना सुर्खेतका सिनियर डिभिजनल ईन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए ।

आर्थिक वर्ष २०७१/७२ बाट निर्माण शुरु गरिएको आयोजना अन्तरगत नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेशिन (टिविएम) मार्फत लक्ष्य अगावै सुरुङ ‘ब्रेक थ्रु’ गरिएको थियो ।

उनका अनुसार भेरी नदी किनार चिप्लेमा हेडवर्कस (बाँध), सर्ज, साफ्ट, पेनस्टक, पावरहावस, हाईड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल निर्माणको काम भइरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा आयोजना निर्माण सक्ने लक्ष्य जलस्रोत तथा सिँचाई विभागको छ । आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड बजेट रहेको छ ।

यो मध्ये भेरी बबई डाइभर्सनतर्फ ३३ अर्ब १९ करोड र भेरी कोरीडोर विकास आयोजनाका लागि तीन अर्ब ६१ करोड बजेट रहेको सुवेदी बताउँछन् । यो बजेटमार्फत आयोजनाबाट प्रभावितहरुलाई भूमिगत/लिफ्ट सिँचाई, कुलो, पुनर्निमाण, सिंचित क्षेत्र तथा इन्टेक बचावट (तटबन्धन) निर्माणमा खर्चिएको सुवेदीले उल्लेख गरे ।

सिंचाई विकास तथा सामाजिक विकासअन्तरगत भेरी कोरीडरमा सतह, सौर्य तथा विद्युतीय लिफ्ट सिँचाई निर्माण गरिएको छ । लिफ्ट सिँचाइतर्फ सात हजार र सतह सिँचाइतर्फ नौ हजार हेक्टर जमिनमा सिँचाई पुर्‍याइउने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

‘कोरोना महामारीले आयोजना निर्माणमा केही प्रभावित भएपनि हाल तीन चरणमा काम भइरहेको छ,’ सुवेदीले भने, ‘आयोजनाको फागुन मसान्तसम्म भौतिक प्रगति ५३ प्रतिशत भएको छ ।’

भेरी नदीको चिप्लेमा एक सय १४ मिटर लामो ब्यारेजसहित एक सय ५८ मिटर डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको छ । पोर्टलमा चार वटा ढोका हुनेछन् भने भेरी नदी वारपार गर्न पुल पनि निर्माण गरिनेछ । दोस्रो चरणको काम २०८० साउन २९ भित्र बाँध निर्माण सक्ने गरी रमण/ग्वाङ्डोन जेभीले जिम्मा लिएको छ ।

आयोजना सकिएपछि १२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी भेरी नदीबाट बबई नदीमा खसालिनेछ । भेरी नदीमा सुक्खायाममा ८० घनमिटर पानी प्रतिसेकेन्ड बग्छ ।

एक सय ५२ मिटर लामो हेडको प्रयोगबाट ४६.८ मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् गृहको निर्माण गरी वार्षिक तीन सय ८५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाको योजना छ । भेरी नदीबाट बबईमा खसालिएको पानीले लुम्बिनी प्रदेशका बर्दिया र बाँकेका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *