एकै खेलमा करन केसीका तीन सफलता, एउटा राष्ट्रिय कीर्तिमान – Nepal Press

एकै खेलमा करन केसीका तीन सफलता, एउटा राष्ट्रिय कीर्तिमान

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदान विहीबार करन केसीका लागि खास बन्यो । यही मैदानमा भएको खेलमार्फत सुरूमा करनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरे ।

त्यसपछि लगातार तीन बलमा विकेट लिँदै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बने । ह्याट्रिकसँगै खेलमा उनको ५ विकेट पनि पुरा भयो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने उनी पहिलो नेपाली बलर बने ।

त्रिकोणात्मक शृंखलाअन्तर्गत पपुआ न्युगिनीविरुद्ध उत्रिएको नेपालले पहिला ब्याटिङ गर्दै २ सय ४ रनको लक्ष्य दिएको थियो । नेपाली टोलीले १८ औँ ओभरमा २४ र १९ औँ ओभरमा ३२ रन जोडेको थियो ।

विशाल लक्ष्य पछ्याएको पीएनजीले १३ रन जोड्दा २ विकेट गुमाएको थियो। करनले पहिलो र तेस्रो ओभरमा विकेट लिएका थिए । पहिलो विकेटमै उनको ५० विकेट पुरा भएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने उनी दोस्रो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछानेले उक्त सफलता हात पारेका थिए ।

करनले ३६ खेलमा ५० विकेट पुरा गरेका हुन् । सन्दीपले ५० विकेट पूरा गर्न २९ खेल खेल्नुपरेको थियो । १७औँ ओभरमा व्यक्तिगत तेस्रो ओभर फ्याँक्न आएका करनले एक छक्का र एक चौकासहित १४ रन खर्चिएका थिए ।

यसपछि उनी नेपालको अन्तिम ओभर बलिङ गर्न आएका थिए । २० औँ ओभरको पहिलो बलमा रन नदिएका करनले त्यसपछि लगातार तीन बलमा विकेट लिएका थिए। उनको ह्याट्रिकसँगै पीएनजी अलआउट भयो र नेपाल लगातार तेस्रो जितसहित श्रृंखलाको फाइनलमा पुग्यो ।

करनले यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक ४ विकेटसम्म लिएका थिए । करनले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटक ४ विकेटसम्म लिएका छन्। ५ विकेटको सफलता भने प्राप्त गर्न बाँकी छ ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेले दुईपटक कम्तीमा पाँच विकेट लिएका छन्। उनले चारपटक ४ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुईपटक ४ विकेट लिएका छन् । सोमपाल कामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक कम्तीमा पाँच विकेट र एक पटक ४ विकेट लिएका छन् ।

कीर्तिपुर मैदानमा पाँचौपटक नेपालको २ सय ‘प्लस’ रन, चौथोपटक सेभ

कीर्तपुर मैदानमा खेलेका टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाँचौपटक एकै पारीमा २ सयभन्दा बढी रन बनाएको हो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा समग्रमा नेपालले छैटौँपटक २ सय भन्दा बढी रन बनाएको हो । गत वर्ष कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ र २ सय ६, मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो ।

तीन वर्षअघि कीर्तिपुर मैदानमै भुटानविरुद्ध २ सय ३६ रन जोडेको नेपालले गत फेब्रुअरीमा फिलिपिन्सविरुद्ध २ सय १८ रन जोडेको थियो ओमानमा । यीमध्ये नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्दै बनाएको २ सय ६ रनमा मात्र नेपाली टोली पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर