लगातार तीन खेल जित्दै नेपाल फाइनलमाः पीएनजी ३७ रनले पराजित (तस्बिरहरु) – Nepal Press
त्रिदेशीय टी-२० श्रृंखला

लगातार तीन खेल जित्दै नेपाल फाइनलमाः पीएनजी ३७ रनले पराजित (तस्बिरहरु)

काठमाडौं । करण केसीको उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्दै जारी त्रिदेशीय टी-२० श्रृंखलामा नेपाल एक खेलअगावै फाइनल प्रवेश गरेको छ । .

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको पीएनजीलाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको विजयी लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ६६ रनामा सिमित भयो ।

पीएनजीलाई हराएसँगै टी-२० श्रृङखलामा लगातार तीन जित निकाल्दै नेपाल फाइनल पुगेको हो ।

नेपालको जितमा करण केसी र अविनाश बोहराले उत्कृष्ट बलिङ प्रदर्शन गरे । करणले आजकै खेलमा पीएनजीका दुई ओपनरलाई आउट गराउँदै टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । उनी टी-२० मा ५ विकेट लिने पहिलो नेपाली बलर हुन् । करणले अन्तिम ओभरमा ह्याट्रिकसहित ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । अविनाशले चार ओभरमा ३४ रन खर्चेर दुई विकेट लिन सफल भए ।

सोम्पाल कामीले दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

एक-एक रन जोडेर पीएनजीका ओपनर लेगा सिआका र कप्तान आसाद भाला आउट भएपछि तेस्रो नम्बरमा क्रिजमा आएका चाल्र्स अमिनिले उतकृष्ट अर्धसतकीय इनिङ खेल्दै पीएनजीको स्कोर मजबुत बनाएका थिए । उनले ४७ बल खेल्दै ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे । टोनि उराले २२ बलमा २ चौका र ४ छक्कासहित ४३ रन बनाए पभेलियन फर्किए ।

सेसे बाउ २५, नोर्मान भानुवा १७ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

यसअघि, घरेलु मैदानमा आफ्नो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेलीरहेको नेपालका लागि दिपेन्द्र सिंह एरीले उत्कृष्ट अर्धसतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान गरे ।

रोहित पौडेलले४१ रन बनाए । उनले २३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । ओपनर आसिफ शेखले ३८ रनमा आउट भएका थिए । उनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल २० बलमा १७ रन जोडेर पभेलियन फर्किएका थिए ।

अदिल अलामले आफ्नो डेब्यु खेलमा लगातार तीन छक्का प्रहा गर्दै ११ बलमा ३१ रन जोडे । त्यसछि क्रिजमा आएका कुनैपनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

पीएनजीका काबुवा मोएराले सर्वाधिक तीन विकेट लिए । हिकुरेले २ विकेट लिए भने, नोर्मान भानुवा र नोसाइना पोकानाले समान एक विकेट लिए ।

तस्बिरहरू : उमेश कार्की । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *