११ बलमा ५६ रन जोडेपछि नेपालले ७ बलमा ४ रन थप्यो, ३ विकेट गुमायो – Nepal Press

११ बलमा ५६ रन जोडेपछि नेपालले ७ बलमा ४ रन थप्यो, ३ विकेट गुमायो

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा विहीबार दीपेन्द्रसिंह ऐरी र आदिल खानले छक्का र चौकाको वर्षा गरे ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पपुआ न्युगिनी (पीएनजी) लाई २ सय ४ रनको लक्ष्य दियो ।
नेपालले दुई ओभरमा मात्र ५६ रन जोडेको थियो । १८ र १९ औँ ओभरमा नेपालले ती रन जोडेको थियो। १८ औँ ओभरमा २४ रन जोडेको नेपालले १९ औँ ओभरमा ३२ रन थपेको थियो ।

१८ औँ ओभरमा दीपेन्द्रले सुरूका तीन बलमा लगातार छक्का प्रहार गर्दै अर्धसतक पूरा गरेका थिए । त्यसपछि छैटौँ बलमा पनि उनले चौका प्रहार गरेका थिए ।

१९ औँ ओभरमा आदिल खानले पहिलो बलमा चौका प्रहार गरे भने त्यसपछि लगातार तीन बलमा छक्का प्रहार गरेका थिए । तेस्रो बललाई भने अम्पायरले नो बल दिएका थिए । चौथो बलमा आदिलले तीन रन जोडे भने पाँचौ बलमा दीपेन्द्रले छक्का प्रहार गरे। अन्तिम बलमा भने दीपेन्द्र आउट भए ।

२० औँ ओभरमा नेपालले एउटा पनि बाउन्ड्री प्रहार गर्न सकेन । उक्त ओभरमा चार रन जोडेको नेपालले तीन विकेट गुमाएको थियो । काबुआ मोरियाले किफायती बलिङ गरेका हुन् ।

दीपेन्द्रले ३३ बलमा चार छक्का र ३ चौका प्रहार गर्दै ६६ रन जोडे । टी-२० अन्तर्राष्ट्रियको आफ्नो डेब्यू खेलमा आदिलले ११ बलमा तीन छक्का र एक चौकासहित ३१ रन बनाए। नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँपटक २ सयभन्दा बढी रन बनाएको हो । गत वर्ष कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ र २ सय ६, मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो ।

तीन वर्षअघि कीर्तिपुर मैदानमै भुटानविरुद्ध २ सय ३६ रन जोडेको नेपालले गत फेब्रुअरीमा फिलिपिन्सविरुद्ध २ सय १८ रन जोडेको थियो ओमानमा । यीमध्ये नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्दै बनाएको २ सय ६ रनमा मात्र नेपाली टोली पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर