मलेसियाविरुद्ध नेपालको सहज जित, आसिफको अर्धशतक – Nepal Press

मलेसियाविरुद्ध नेपालको सहज जित, आसिफको अर्धशतक

काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ ।

बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै मलेसियाविरुद्ध नेपालले ६ विकेटको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै १ सय १७ रन बनायो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५७ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । आसिफको करिअरको यो दोस्रो अर्धसतक हो ।

अर्का ओपनर कुशल भुर्तेल ६ बल खेल्दै १ रन बनाएर आउट हुदा आसिफले तेस्रो नम्बरमा क्रिजमा आएका ब्याटर दिपेन्द्रसिंह ऐरीसँग ७० रनको साझेदारी गरेका थिए । दिपेन्द्रले २१ रनको योगदान गरे ।

रोहित पौडेल १० बलमा २ चौकासहित १२ रन बनाएर आउट हुँदा दीलिपनाथ १५ र कुशल मल्ल २ रन बनाएर अविजित रहे । मलेसियाको वलिङमा पभन्दीप सिँहले दुई , मुहमद अमिर र सैद अजिजले समान एक विकेट लिए । यसअघि, पहिलो बलमै ओपनर भिरन्दीप सिंहलाई गुमाएको मलेसियाका लागि जुबैदी जुल्किफले १५ बलमा ३ चौका र दुई छक्कासहित सर्वाधिक ३२ रनको योगदान गरे ।

कप्तान अमाद फेइज २४ रनमा पभेलियन फर्किए । उनले ३८ बल खेल्दै तीन चौका प्रहार गरेका थिए । सेइद अजिज १४ रन, मुहमद अमिर १६ रन बनाएर आउट भए । त्यसपछि अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले र करन केसीले समान दुई विकेट लिए । सन्दीपले चार ओभरमा २७ रन खचिँदै दुई विकेट लिए भने करणले तीन ओभरमा १६ रन खर्चिएका थिए ।

अविनास बोहरा, कुशल मल्ल, दिपेद्रसिँह ऐरीले समान एक विकेट लिए । भोलि हुने सिरिजको चौथो खेलमा नेपालले पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

तस्बिरहरू : उमेश कार्की । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर