सन्दीपदेखि सोमपालसम्म : अन्तर्राष्ट्रिय क्रिकेटमा कसले के कीर्तिमान बनाए ? – Nepal Press

सन्दीपदेखि सोमपालसम्म : अन्तर्राष्ट्रिय क्रिकेटमा कसले के कीर्तिमान बनाए ?

काठमाडौं । नेपालका कुशल भुर्तेलले सोमबार टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा ५ सय रन पुरा गर्ने विश्व कीर्तिमान बराबरी गरे ।

घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पपुआ न्युगिनी-पीएनजीविरुद्ध दुई रन जोड्दै ५ सय रन पुरा गरेका थिए । उनले १२ खेलमै यो सफलता प्राप्त गर्दै इङ्गल्यान्डका डेभिड मलान र अफगानिस्तानका हज्रतुल्लाह जजाईको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।

यसअघि कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेलदेखि लगातार तीन अर्धसत्तक बनाउने ब्याट्सम्यानका रूपमा विश्व कीर्तिमान बनाएका थिए ।

पीएनजीविरुद्ध केही दिन अघि विकेट लिँदै सन्दीप लामिछाने एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने बलर बनेका थिए ।

सन्दीपले २२ खेलमा उक्त सफलता हात पारेका थिए । यसअघि श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट पुरा गरेर एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका थिए । यी स्पिनरले सन् २००९ मा उक्त सफलता हात पारेका थिए । सन्दीप टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि तेस्रो सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने बलर हुन् ।

विश्वकप छनोटका क्रममा गत महिना ओमानमा भएको खेलमा सन्दीपले आयरल्यान्डविरुद्ध विकेट लिँदै ५० विकेट पुरा गरेका थिए । उनले यो सफलता हात पार्न २९ खेल खेल्नु परेको थियो ।

श्रीलंकाका मेन्डिसले २६ खेलमा आयरल्यान्डका मार्क रिचार्ड अडैरले २८ खेलमा ५० विकेट पुरा गरेका थिए । नेपालले सन् २०१४ मा टी-२० अन्तर्राष्ट्रिय र सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो

विश्वकपमा राम्रो प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले नेपाललाई विशेष सम्मानस्वरुप टी-२० अन्तर्राष्ट्रियको मान्यता दिएको थियो ।

त्यसअघि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता रहने टोलीसँग स्वतः टी-२० अन्तर्राष्ट्रियको पनि मान्यता हुने गर्थ्यो । सन् २०१८ मा आयोजित एकदिवशीय विश्वकपको विश्व स्तरको छनोटबाट नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो । सोही वर्ष आइसिसीले आफ्ना सबै सदस्यलाई टी-२० अन्तर्राष्ट्रियको स्थायी मान्यता दिने निर्णय पनि गरेको थियो ।

एकदिवशीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीका अन्य दुई वटा विश्व कीर्तिमान पनि रहेका छन् । रोहित पौडेल सबैभन्दा कम उमेरमा एकदिवशीय अन्तर्राष्ट्रिय अर्धसत्तक बनाउने ब्याट्सम्यान हुन् । सन् २०१९ को जनवरीमा उनले यूएईविरुद्ध ५५ रनको पाली खेल्दा रोहितको उमेर १६ वर्ष एक सय ४६ दिन रहेको थियो ।

त्यसअघि सोमपालले सन् २०१४ को नोभेम्बर/डिसेम्बरमा विश्व कीर्तिमान बनाएका थिए। उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० औँ नम्बरमा ब्याटिङमा आएर सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका थिए ।

हङकङविरुद्धको खेलमा उनले ४० रनको पारी खेलेका थिए । त्यसअघि श्रीलंकाका प्रदिप निशान्थाले सन् २००७ मा ३७ रन बनाएर कीर्तिमान बनाएका थिए ।

टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउनुअघि नेपालले दुवै फर्म्याटमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्दै आएको थियो । तर नेपाली खेलाडीले प्राप्त गरेका सफलताहरू ती फर्म्याटका अन्तर्राष्ट्रिय खेलमा भनेर दर्ता भए । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप र एकदिवशीय विश्वकप छनोटका खेलहरूलाई भने लिस्ट एको मान्यता दिइएको थियो ।

मेहबुब आलमले सन् २००८ मा आयोजित आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभमा मोजाम्बिकविरुद्ध १० विकेट लिएका थिए । उनी ५० ओभर फर्म्याटको सिनियर अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वकै पहिलो बलरका रूपमा विश्व कीर्तिमान बनाउन सफल भए ।

सन् २०१२ मा शक्ति गौचनले आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ अन्तर्गत मलेसियाविरुद्ध १० ओभर बलिङ गर्दै ८ मेडन राखेर २ रन खर्चँदै तीन विकेट लिन सफल भएका थिए । उनी ५० ओभर फर्म्याटको सिनियर अन्तर्राष्ट्रिय खेलमा बेस्ट इकोनोमी बलर बने ।

उनको उक्त पारीमा बलिङ इकोनोमी ०.२ रहेको थियो । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा बेस्ट बलिङ इकोनोमी वेस्ट इन्डिजका फिल सिमोन्सको नाममा छ । सिमोन्सले सन् १९९२ मा पाकिस्तानविरुद्ध १० ओभर बलिङ गर्दै ८ मेडन राखेर ३ रन खर्चँदै ४ विकेट लिएका थिए । सिमोन्सको उक्त पारीमा बलिङ इकोनोमी ०.३ रहेको थियो ।

खेलाडीले मात्र होइन, नेपाली टोलीले पनि विश्व कीर्तिमान बनाएको छ । ५० ओभरको सिनियर अन्तर्राष्ट्रिय खेलमा विपक्षीलाई सबैभन्दा कम योगफलमा समेट्ने र सबैभन्दा कम बलमा लक्ष्य पुरा गर्ने विश्व कीर्तिमान पनि नेपालको नाममा छ । नेपालले सन् २००६ को एसिसी ट्रफीमा म्यानमारलाई १० रनमा समेटेको थियो । नेपालले केवल दुई बलमा लक्ष्य पुरा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *