पीएनजीविरुद्धको जितमा नेपाली बलर सन्दीप, अविनाश र करणले बनाएका तीन ‘मोमेन्टम’ – Nepal Press

पीएनजीविरुद्धको जितमा नेपाली बलर सन्दीप, अविनाश र करणले बनाएका तीन ‘मोमेन्टम’

काठमाडौं । नेपालले घरेलु मैदानमा सोमबार पपुआ न्युगिनी (पीएनजी) विरुद्ध सम्भावित लगातार तेस्रो हार टार्‍यो ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा एक सय ८४ रनको लक्ष्य पच्छ्याउनेक्रममा पीएनजीले १३ ओभरको समाप्तिमा ७ विकेट गुमाएर एक सय रन मात्र जोडेको थियो । उसलाई अन्तिम ७ ओभरमा ८४ रन चाहिएको थियो भने तीन विकेट मात्र साथमा थिए ।

तर नेपाली बलरसामु पीएनजीका ब्याट्सम्यान नर्मन भानुआ खरो उत्रिए । कतिसम्म भने पीएनजीलाई अन्तिम २ ओभरमा २५ रन आवश्यक रहँदा पनि भ्रमणकारी टोलीसँग तीन विकेट साथमा थियो । भानुआ २८ बलमा ५२ रनमा खेल्दै थिए । अर्का नट आउट चाड सोपरले १० बलमा ६ रन जोडेका थिए ।

१९ औँ ओभर लिएर आएका करण केसीले पाचौँ बलमा भानुआलाई योर्कर धरापमा पारे । त्यस ओभरमा करनले ८ रन खर्चिएपछि भानुआलाई आउट गरेका थिए । लगत्तै अर्को बलमा उनले सिमोन अटाईलाई गोल्डेन डक आउट गराए ।

अटाइको लामो प्रहारको बल दीपेन्द्रसिंह ऐरीले दौडँदै क्याच लिए । करण यस्तो दबाबमा आएका थिए की पीएनजीले अन्तिम तीन ओभरमा ४३ रन जोडेको थियो । पीएनजीलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो भने एक विकेट मात्र साथमा थियो । दीपेन्द्रले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा अलेई नाओलाई रन आउट गराए ।

यो पनि पढ्नुहोस्ः पीएनजीलाई हराउँदै टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

यसरी नेपाल भ्रमणमा सशक्त प्रदर्शन गरिरहेको पीएनजील‍े पहिलो हार बेहोर्‍यो । शुक्रवार र शनिवार भएका दुई वटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा शानदार प्रदर्शन गर्दै पीएनजीले शृंखला जितेको थियो ।

सोमबार २८ रनमै दुई विकेट गुमाए पनि पीएनजीले खेलमा पटक पटक फर्कने प्रयास गरेको थियो । अविनाश बोहराले लयमा रहेका चार्ल्स अमिनीलाई आउट गर्दा पीएनजीले ५. ३ ओभरमा ३ विकेट गुमाएर ५२ रन जोडेको थियो ।

अमिनीले १० बलमा एक छक्का र ३ चौकासहित २२ रन जोडे। पीएनजीले नवौँ ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई गुमाएको थियो, चौथो विकेटका रुपमा । पीएनजीले ८४ रन जोडेको अवस्थामा सन्दीपले असादलाई आउट गरेका थिए । भालाले १४ बलमा ७ रन बनाए । ११ औँ ओभरको अन्तिम बलमा पीएनजीले व्यक्तिगत ३० रनमा खेलिरहेका सेसे बाउलाई पाँचाैँ विकेटका रुपमा गुमाएको थियो । उसले ९१ रन जोडेको अवस्थामा सन्दीपले बाउलाई आउट गरेका थिए ।

१२ औँ ओभरको तेस्रो बलमा अविनाशले लयमा रहेका रिली हाकुरेलाई पेभेलियन पठाएपछि नेपाल खेलमा हाबी हुन सक्ने अवस्था देखिएको थियो । तर अन्तिम समयसम्म भानुआलाई नेपाललाई राहतको सास फेर्न दिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर