दुर्गेशको चेतावनीपछि हटाइयो कमेडी क्लबको प्रोमो, कार्यक्रमबाट पनि काटिने – Nepal Press

दुर्गेशको चेतावनीपछि हटाइयो कमेडी क्लबको प्रोमो, कार्यक्रमबाट पनि काटिने

काठमाडौं । कमेडी क्लब विथ च्याम्पियनको दोस्रो भाग टेलिभिजनमा प्रसारण नहुँदै विवादमा परेको छ ।

गायक दुर्गेशले आफूमाथि गरिएको व्यंग्यलाई लिएर आपत्ति जनाएपछि निर्माण पक्षले कार्यक्रमको प्रोमो नै युट्यूबाट हटायो ।

प्रसारित प्रोमोमा उक्त कार्यक्रमका कमेडीयन सजन श्रेष्ठले दुर्गेशको पोस्टरसमेत देखाएर उनको मजाक उडाएका थिए । पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।

प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा…। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’

दुर्गेशले कार्यक्रमको निर्माण पक्षसँग यसमा आपत्ति जनाउँदै कानूनी प्रक्रियामा जान सक्ने चेतावनी दिएका थिए ।

नेपाल प्रेससँगको कुराकानीमा दुर्गेशले अदालतमा विचाराधीन विषयमा आफ्नो चरित्रहत्या गर्ने विषयवस्तु देखेपछि आपत्ति जनाएको बताए । उनले दिपाश्री निरौला र कमेडीयन साजनसँग आफूले कुरा गरेको जानकारी दिए ।

‘अदालतमा पुगेको यति गम्भीर विषयमा हलुका तरिकाले कमेडी गर्नु हुँदैनथ्यो, मैले यही कुरा निर्माण पक्षलाई सम्झाएको हुँ,’ उनले भने ।

दुर्गेशले प्रोमो नहटाएमा कानूनी प्रक्रियामा जाने सन्देश पनि दिएका थिए । त्यसपछि निर्माण पक्षले प्रोमो हटाएको हो । पूरा कार्यक्रममा पनि दुर्गेशको सो दृश्य हटाइने जानकारी प्राप्त भएको छ ।

कमेडी विथ च्याम्पियन अध्यक्षको भूमिकामा रहेकी दिपाश्री निरौलाले अदालतमा विचाराधीन विषय भएको हुँदा अनावश्यक विवाद नआओस् भनेर प्रोमो हटाइएको बताइन् ।

उनले भनिन्, ‘हामीले यसलाई व्यंग्यका रुपमा मात्रै लिएका थियौँ । तर दुर्गेश भाइले पनि फोन गरेर असन्तुष्टि व्यक्त गर्नुभयो । हामी आफैँले पनि अदालतमा विचाराधीन केसमा किन छेड छाड गर्ने भन्ने महसुस गरेर हटाउने निर्णय लिएका हौँ । पूरा कार्यक्रमबाट पनि यो दृश्य हटाएर प्रसारण हुन्छ ।’

कमेडी विथ च्याम्पियनको दोस्रो भाग आज नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *